भारत झारखण्डको सिमडेगा जिल्लाको ग्रामीण क्षेत्रमा भिडले एक युवकलाई गम्भीर कुटपिट गरी जिउँदै जलाएको छ ।
स्वीकृति बिना सञ्जूले रुख काटेर दाउरा बेच्ने गरेको आरोप लगाउदै बेसराजारा गाउँका बासिन्दाले स्थानीय सञ्जू प्रधानलाई कुटपिट गरेर जिउँदै जलाएको प्राप्त समाचारमा उल्लेख छ ।
आदिवासीहरुको पारम्परागत खूँटकटी व्यवस्था अनुसार ग्राम प्रधानको इजाजत बिना गाउँमा रुख काट्न पाइँदैन । बिना स्वीकृति सञ्जूले रुख काटेर दाउरा बेच्ने गरेको जनाइएको छ ।
प्रत्यक्षदर्शीका अनुसार मारिने युवककी पत्नीले भिडसँग ज्यानको भिक मागेकी थिइन् । तर उनको बिन्ती नसुनेर कुटपिट गरेर जलाएका हुन् ।
सञ्जूले रुख काट्ने गरेको जानकारी वन विभागलाई पनि गराईएको तर त्यहाँबाट केही कारवाही नभएपछि गाउँलेहरु त्यहाँ पुगेको स्थानीय बासिन्दाको दाबी छ ।
प्रहरीले घटनालाई ‘मब लिन्चिङ जस्तो’ भनेको छ । घटनाको अनुसन्धान भइरहेको र केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि पक्राउ गरिएका व्यक्तिको संख्या भने खुलाएको छैन ।
यसैबीच प्राप्त अर्को समाचार अनुसार, भारतको झारखण्डमा मोटरसाइकल चोरेको आरोपमा भीडले कुटपिट गर्दा एक मुस्लिम युवकको मृत्यु भएको छ ।
मंगलबार साँझ २४ वर्षीय तबरेज अन्सारीलाई मोटरसाइकल चोरेको आरोपमा पक्राउ गरेर गाउँलेहरूले पोलमा बाँधेर सात घण्टाभन्दा बढी कुटपिट गरेकाे हाे । अन्सारीको शनिबार मृत्यु भएको छ ।
सात घण्टाभन्दा बढी कुटपिट गरेपछि बुधबार बिहान बेहोस भएका अन्सारीलाई प्रहरीको जिम्मा लगाइएको थियो । भीडले उनलाई ‘जय श्री राम’ र ‘जय हनुमान’ भन्दै कुटेका थिए । अहिले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
अन्सारीको उपचारको लागि अनुरोध गरेपनि प्रहरीले बेवास्ता गरेको उनको आफन्तको भनाइ छ । झारखण्डको सरायकेला–खरसावन र पूर्वी सिंहभूम जिल्लाको सिमानामा उनलाई कुटपिट गर्ने प्रहरी र भीडलाई कारबाही गर्न उनीहरुले माग गरेका छन् ।
स्थानीय अस्पतालमा प्रारम्भिक जाँचपछि प्रहरीले उनलाई जिल्लाको सरायकेला कारागार पठाएको थियो । उनको अवस्था बिग्रिएपछि जिल्ला सदरमुकाम ल्याइएपछि उनलाई मृत घोषणा गरिएको थियो ।
परिवारका सदस्यहरूले उनको मृत्यु भएको विश्वास गर्न अस्वीकार गरेपछि जमशेदपुरको निजी अस्पतालमा रिफर गरिएको थियो । अन्सारीलाई टाटा मेन अस्पताल लगिएको थियो, त्यहाँ पनि उनको मृत्यु भएको पुष्टि भएको थियो ।
तबरेज अन्सारीका एक नातेदारले मंगलबार केही साथीहरूसँग जमशेदपुरबाट सराइकेला–खरसावनको कार्सोभा फर्कदै गरेको बताएका छन् । उनको घरबाट करिब ५ किलोमिटर टाढा रहेको भीडले उनीहरुमाथि आक्रमण गरेको थियो ।
‘त्यहाँ मोटरसाइकल चोरीको घटना धेरै हुँदो रहेछ, त्यसैले गाउँलेहरूले समातेर कुटपिट गरे । उनीसँग दुईजना साथी थिए जो भागेका थिए ।’ उनका आफन्तले भने ।