दैलेखबाट हराएका एकै परिवारका पाँच जना मध्ये दुई जना छोरीहरुको शब कर्णाली नदीमा हात बाँधिएको अवस्थामा फेला परेका छन्।
दैलेख आठबिस नगरपालिका– ३ मानसिंह बडुवालका छोरीहरू १४ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शब हात बाँधिएको अवस्थामा कर्णाली नदीमा फेला परेको प्रहरीले जनाएको छ। मानसिंहकी श्रीमती सुखी र एक छोरा र अर्की एक जना छोरी अझै बेपत्ता रहेका दैलेख प्रहरीले जानकारी दिएको छ। मृत भेटिएका दुई बालिकाका बुवा मानसिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरूको शव अछामको पञ्चदेवलविनायक नगरपालिका–४ बिलखे भन्ने स्थानमा फेला परेको दैलेख प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए। उनीहरू माछा मार्ने जालमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
ती बालिकाहरुको मृत्यु रहस्यमय देखिएको प्रहरीले बताएको छ । घरायसी विवाद हुँदा श्रीमती छोराछोरी लिएर घरबाट निस्किएको बताइएको अवस्थामा दुई छोरीहरु कर्णाली नदीमा मृत भेटिनुलाई प्रहरीले रहस्यमय मानेको र त्यस सम्बन्धमा आबश्यक अनुसन्धान भैरहेको प्रहरील जनाएको छ।