पेस्तोलसहित एक युवालाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत बस्ने ३० वर्षीय साजितअलि इन्द्रिसीलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको सादा पोशाकका प्रहरीले उनलाई शनिबार बेलुका सोही वडास्थित राधाकृष्ण मन्दिर नजिक उनकै आजात रोयल सर्भिस सेन्टरको पछाडि रहेको राधाकृष्ण सर्वेश्वर मन्दिर जाने भर्याङमुनि मोटर पार्टस्भित्र लुकाइछिपाइ राखेको पेस्तोलसहित पक्राउ गरेको थियो।
इन्द्रिसीले सुर्खेतका विभिन्न स्थानमा हतियार देखाई डर त्रास, धम्की दिने गरेको आरोप प्रहरीले लगाएको छ। प्रहरीका अनुसार बरामद पेस्तोलसँगै टार्गेट शुट लेखिएको सानो प्याकेटभित्र ७० थान कार्टिज फेला पारेको छ।
निजलाई हातहतियार तथा खरखजानासम्बन्धी कसूर मुद्दा लगाई जिल्ला अदालतबाट तीन दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ।