नेपालका कम्युनिष्टहरुले रुसमा भएको अक्टोबर क्रान्ति र त्यसबाट कला साहित्यमा परेको प्रभाब बारे अध्ययन गरिनुपर्ने कुरामा जोड दिइएको छ।
अखिल नेपाल जनसांस्कृतिक महासङ्घ लुम्बिनी ब्युरोले शुक्रबार बुटवलमा आयोजना गरेको “अक्टोबर क्रान्ति र कला साहित्य” बारको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले त्यस्तो कुरामा जोड दिएका हुन्। उनीहरुले रूसी समाजवादी अक्टोबर क्रान्तिको युगान्तकारी महत्व भएको भन्दै नेपालमा यसले वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि क्रान्तिकारीहरुलाई उत्प्रेरणा दिइरहेको बताए ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घका पूर्व केन्द्रीय सदस्य एवं लेखक डा. शिवशङ्कर बस्यालले अक्टोबर क्रान्तिले तत्कालीन जारसत्ताको जाँतोमुनि पिसिएका रूसी जनतालाई मुक्त गरेको भन्दै कम्युनिस्ट सिद्धान्त अनुरुप पहिलो समाजवादी सत्ता स्थापना भएको बताए । उनले रूसी अक्टोबर क्रान्तिको प्रभाव कला साहित्यमा परेको भन्दै नेपालमा एकीकृत जनक्रान्ति सम्पन्न गर्न अक्टोबर क्रान्तिले प्रेरणा दिइरहेको उल्लेख गरे ।

अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष गुणाखर भट्टराईले अक्टोबर क्रान्तिको शिक्षाबाट नेपालमा क्रान्ति सम्पन्न गर्ने सकिने दाबी गरे ।
महासङ्घका केन्द्रीय सदस्य एवं लुम्बिनी ब्युरो संयोजक खोमा तरामु मगरले विचारधारा अन्त्यको हल्ला चलाएर पुँजीवादले आफ्नो आयु लम्ब्याउन खोजेको जिकिर गर्दै अक्टोबर क्रान्तिको झणडा कुनै पनि हालतमा नाझुक्लने बताए । उनले अघि भने,” नेपालमा कम्युनिस्ट पार्टीको स्थापनापछि कला साहित्यमा अक्टोबर क्रान्तिको प्रभाव परेको छ। ”

अखिल(क्रान्तिकारी) का केन्द्रीय सदस्य एवं लुम्बिनी ब्युरो संयोजक विरेन्द्र विकले पुँजीवादको विकल्प वैज्ञानिक समाजवाद भएको भन्दै एकीकृत जनक्रान्तिमा कला साहित्यको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा क्षितिज परिवारले अक्टोबर क्रान्तिसम्बन्धी गीतहरु प्रस्तुत गरेको थियो भने १५ जना कविहरुले कविता वाचन गरेका थिए ।
पारस राहादी मगरले लेनिनद्वारा रचित “त्यो आँधीमय बर्ष” वाचन गरेको त्यस अन्तरक्रियामा रूपन्देही, कपिलवस्तु, पाल्पा, नवलपरासी, नवलपुर जिल्लाहरुबाट सहभागिता रहेको थियो । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ लुम्बिनी ब्युरो संयोजक खोमा तरामु मगरको अध्यक्षतामा भएको सो कार्यक्रम , ब्युरो सदस्य एवं क्षितिज परिवारका संयोजक संयोगले संचालन गरेका थिए।


यसअघि महासङ्घले बुटवलमा एमसीसी विरुद्ध सिर्जनात्मक कार्यक्रम गरेको थियो ।