बलिउड का चर्चित अभिनेताहरु शाहरुख खान, आमिर खान तथा सलमान खानसहितका बलीवुडका ३४ निर्माता एवम् फिल्म उद्योगसम्बद्ध चारवटा सङ्घहरूले दुईवटा भारतीय न्युज च्यानल र तिनका चार समाचार प्रस्तोताविरुद्ध “गैरजिम्मेवार रिपोर्टिङ”को विरुद्ध अदालतमा मुद्दा हालेका छन्।
रिपब्लिक टीभी र त्यसका प्रस्तोता अर्णव गोस्वामी र प्रदीप भण्डारी अनि टाइम्स नाउ टीभी र उसका प्रस्तोता राहुल शिवशङ्कर र नविका कुमारविरुद्ध उनीहरुले तिनीहरुले गरेको रिपोर्टिङका केही शैलीलाई लिएर कारबाहीको माग गर्दै दिल्लीस्थित् अदालतमा मुद्दा हालेका हुन्।
“प्रतिवादीहरूका हिलो छ्याप्ने अभियानका कारण बलीवुडसँग सम्बद्ध मानिसहरूको जीविकामा प्रभाव परेको छ,” रिट निवेदनमा जिकिर गरिएको छ।
“बलीवुडका सदस्यहरूको निजत्व उल्लङ्घन गरिएको छ। सम्पूर्ण बलीवुडलाई अपराधीको सङ्ज्ञा दिने, सबै दुर्व्यसनी भए जस्तो प्रचार गर्ने र जनमानसमाझ बलीवुडसँग जोडिनु भनेको आपराधिक कार्य गर्नु जस्तो गरी व्यवहार गरेर बलीवुडका सदस्यहरूको प्रतिष्ठामा अपूरणीय क्षति पुगेको छ,” मुद्दामा भनिएको छ।
मुम्बईस्थित आफ्नै फ्ल्याटमा जुन १४ तारिख मृत अवस्थामा फेला परेका चौतीस वर्षीय अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपका बारेमा भारतीय केही टेलिभिजन च्यानलहरुले अफावाहा फैलाएर आफुहरुको बेइज्जत गरेको उनीहरुको जिकिर छ।
अभिनेता राजपुतले आत्महत्या गरेको प्रहरीले बताएको थियो। तर उनका परिवारले उनको प्रेमिका रिया चक्रवर्तीविरुद्ध आत्महत्या गर्न उक्साएको तथा अन्य अपराध गरेको भन्दै प्रहरीमा निवेदन दिए। चक्रवर्तीले ती आरोप अस्वीकार गरिन्।
त्यसयता अभिनेत्री दीपिका पादुकोनसहित कैयौँ कलाकारसँग सोधपुछ गरिएको छ। ती कसैलाई कुनै गल्ती गरेको आरोप भने लगाइएको छैन।
सो मामिलालाई अहिले तीनवटा सङ्घीय निकायले अनुसन्धान गरिरहेका छन्। अनुसन्धानकर्ताहरूले सञ्चारमाध्यममा बेलाबखत टुक्राटाक्री जानकारी दिन थालेपछि के भएको हो अनि को जिम्मेवार हो भन्ने विषयमा हल्ला तथा अनुमान व्याप्त भएका थिए।