पोखराका घुमन्ते पत्रकार तिलक पुनको नियात्रा संग्रह “बस्तीभित्र” लोकार्पित

पोखराका घुमन्ते पत्रकार तिलक पुनको नियात्रा संग्रह “बस्तीभित्र” लोकार्पित


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ असोज २०७७
  • 4.2K
    Shares

घुमन्ते पत्रकार तिलक पुनको नियात्रा संग्रह लोकार्पण

उनको भारी शरीर छ । उनी जब गाउँघरको भीर पखेरामा पुग्छन्, उनको स्फूर्ति र हिंडाईले सबै छक्क पर्छन् । तिनै पोखराका पुराना पत्रकार, लेखक तथा नियात्राकार तिलकप्रसाद पुर्जा पुन नेपालका गाउँ–गाउँ र टोल–टोलको घरटहरामा पुगेका छन् । उनी त्यहाँ पुगेका मात्र छैनन् । त्यहाँका दुःखी पीडित जनताका आवाजलाई शब्दजालमा उतार्छन । त्यति मात्र हैन त्यहाँको संस्कृति परम्पराको अध्ययन गरेर आफनो कलमबाट जनतालाई सुसुचित गराउँछन् पनि ।

पत्रकार, लेखक तथा नियात्राकार पुनले आफ्नो नियात्रा संग्रह “बस्तीभित्र” प्रकाशन गरेका छन् । उनले प्रकाशन गरेको नियात्रा संग्रह “बस्तीभित्र”को शुक्रबार पोखरामा आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले लोकार्पण गरे । लेखक पुनकी आमा स्व. जितिमाया पुनको चौथो वार्षिक पुण्यतिथिको अवसर पारेर सो कार्यक्रम नेपाल मगर संघ, कास्कीले आयोजना गरेको थियो ।

त्यस अवसरमा मन्त्री लम्सालले उक्त नियात्रा संग्रहको प्रशंशा मात्र गरेनन्, पुस्तक पढेपछि समाजको गहिराइसम्म पुग्न सकिने बताए । उनले त्यस नियात्रा संग्रह पाठकका लागि महत्वपूर्ण दस्तावेज भएको टिप्पणी गर्दै मन्त्री लम्सालले लेखक पुनलाई धन्यवाद पनि दिए । मन्त्री लम्सालले प्रदेश सरकारले ग्रामीण पर्यटन प्रवद्र्धनलाई जोड दिएको कुरा उल्लेख गर्दै ग्रामीण पर्यटन प्रवद्र्धनमा लोकार्पित पुस्तक सहयोगी साबित हुने दाबी गरे ।

पुस्तकका लेखक पुनले आफूले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म घुम्दाका बखत अनुभूति गरेका कुराहरू नियात्रामार्फत् पस्किने प्रयास गरेको बताए । जीवन आफैंमा यात्रा भएको भन्दै पुनले यात्राका क्रममा पाएका अनुभवहरू समेत संगालेर पुस्तकाकारका रुपमा पाठकमाझ ल्याएको उल्लेख गरे ।

ज्ञान पुर्जा पुन, चाम पुन, निलम गर्बुजा र टेक पुन प्रकाशक रहेको त्यस पुस्तकमा लेखक पुनले ३४ वटा नियात्रा समेटेका छन् । पुस्तकमा लेखक पुनले आफूले घुमेका विभिन्न स्थानको जातीय परम्परा, संस्कृति र प्रकृतिबारे नियात्रामार्फत् आफ्ना अनुभूति सार्वजनिकीकरण गरेका छन् ।

घुमन्ते पत्रकार तिलक पुनको नियात्रा संग्रह लोकार्पण
घुमन्ते पत्रकार तिलक पुनको नियात्रा संग्रह लोकार्पण

पत्रकार रूद्रबहादुर श्रीसले पुस्तकको समीक्षा प्रस्तुत गरेको त्यस कार्यक्रममा पोखराका अग्ला पत्रकारको पहिचान बनाएका सिने पत्रकार श्रीराम सिग्देलले लेखकको परिचय प्रस्तुत गरेका थिए ।

नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार बालकृष्ण काउछा, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इञ्चार्ज खेम पुन, नेपाल मगर संघ, कास्कीकी उपाध्यक्ष बुद्धिमाया थापा र सचिव रामबहादुर थापा, प्रकृतिका अभियन्ता सन्तबहादुर घिसिङ, पर्यटन व्यवसायी लक्की कार्कीलगायतले लेखक पुनले नेपाली समाजको वास्तविकलाई नजिकबाट नियालेर पुस्तक प्रकाशन भएको टिप्पणी राखेका थिए ।

प्रतिक्रिया