साहित्यकार मोदनाथ प्रश्रितले आफुलाई प्राप्त भएको यस वर्षको पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका छन्। सम्मान घोषणा भए लगत्तै आफ्ना बारेमा फैलाइएको अपवाहले भ्रम उत्पन्न भएको भन्दै साहित्यकार प्रश्रितले सम्मान नलिने घोषणा गरेका हुन् ।
सोमवार एक विज्ञप्ति प्रकाशित गरी उनले सम्मानका लागि आफूलाई छनौट गरेकोमा आयोजक खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै सम्मानको घोषणा गरे लगत्तै आफ्नो व्यक्तिगत चरित्र हत्या गर्न केही व्यक्ति तथा समूह लागेको सन्दर्भमा यो पुरस्कार नलिने निर्णय गरेको’ उल्लेख गरिएको छ।

विगत छ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्याएका कारण प्रश्रितलाई उक्त सम्मान गर्न लागिएको खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले जनाएको छ ।
प्रश्रित पूर्वीय दर्शन तथा मार्क्सवादी विचारलाई वैज्ञानिक र वस्तुवादी ढंगले विश्लेषण गरी विश्व मानवता र बन्धुत्व जगाउने लेखक हुन ।