पोखरामा अझै ५ दिन निषेधाज्ञा ! कोरोना समुदायस्तरमा फैलियो निषेधाज्ञा नहटाउन माग

पोखरामा अझै ५ दिन निषेधाज्ञा ! कोरोना समुदायस्तरमा फैलियो निषेधाज्ञा नहटाउन माग


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ भाद्र २०७७
  • 5.3K
    Shares

आश तमु – पोखरा महानगरपालिकाको कोरोना ब्यवस्थापन मुल समितिको बैठकले अझै  ५ दिन निषेधाज्ञा थप्न जिल्ला विपद ब्यवस्थापन समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

आजै जिल्ला विपद ब्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकले अनुमोदन गरेमा अब १२ भदौको मध्यरातसम्म निषेधाज्ञा जारी रहनेछ ।

संक्रमणको अवस्था खासै घटेको छैन । केही दिन अझै थप्न स्वास्थ्य कर्मी र सरोकारवालाहरुको सुझावका आधारमा ५ दिन थप्न सिफारिस गर्ने निर्णय भएको पोखरा महानगरका मेयर मानबहादुर जिसीले बताए ।भदौ २ गतेदेखि जारी निषेधाज्ञा आज राती १२ बजेपछि सकिँदैछ ।

सरकारसँग जनताको सुरक्षाको विश्वास भरोसा नभएका कारण निषेधाज्ञा आवश्यक – काँग्रेस कास्की

यस्तै नेपाली काँग्रेस कास्कीले पनि कास्कीमा निषेधाज्ञा नहटाउन माग गरेको छ ।कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्दै तत्काल निषेधाज्ञा नहटाउन माग गरेको हो ।

सरकार गैरजिम्मेवार बनिरहेकाले कोरोना महामारीका कारण भयावह अवस्था सृजना हुने भन्दै जनतालाई उचित विकल्प दिएर निषेधाज्ञा जारी राख्न कास्की काँग्रेसले माग गरेको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा निषेधाज्ञाका कारण जनजीवन कष्टकर भएपनि स्वास्थ्यका दृष्टिकोणले निषेधाज्ञा अझ कडाई गर्न आवश्यक रहेको उल्लेख छ ।

सरकारसँग जनताको आशा, विश्वास र भरोसा नभएका करण जनताको सुरक्षाको लागि निषेधाज्ञा आवश्यक परेको जनाइएको छ । कोरोनाको उपचारका लागि सरकारसँग कुनै योजना नहुँदा सरकारप्रति जनताको विश्वास नरहेको उल्लेख छ ।

कास्की काँग्रेसले शुरुवातको अवस्थामा नै पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना उपचार अस्पताल बनाउन नहुने भनेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहलमा संचालनमा आएको छुट्टै कोरोना उपचार केन्द्रमा पर्याप्त उपचारको व्यवस्था मिलाउन, विरामीका लागि आवश्यक सुविधा उपलब्ध गराउन , त्यसलाई तत्काल व्यवस्थित बनाउन र क्षमता बढाउनका लागि सरकारको ध्यानाकर्षण गराइएको छ ।

विज्ञप्तिमा प्रदेश सरकार जनप्रतिनिधिको सुविधा बढाउन र स्थानीय सरकारका जनप्रतिनिधि करोडौं रुपैया आर्थिक अनियमिततामा लिप्त रहेको भन्दै निन्दा गरिएको छ ।

विभिन्न संंघसंस्थाले प्रदेश सरकारलाई उपलब्ध गराएको आर्थिक सहायताको उपयोग नगरिएको भन्दै त्यसबाट जनतालाई राहत उपलब्ध गराउन, आर्थिक सहायता र संकलित राहत तथा वितरित राहत विवरण सार्वजनिक गर्न माग गरिएको छ । निषेधाज्ञाको समयमा जनताका समस्याप्रति जिम्मेवार बन्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गरिएको छ ।

विज्ञप्तिमा संक्रमणबाट जोगिन आवश्यक सावधानी र सतर्कता अपनाउन अपिल गरिएको छ । संक्रमणका कारण उपचार गराई रहेकाको स्वास्थ्यलाभको कामना र निधन भएकाप्रति श्रद्वाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

प्रतिक्रिया