नेपाल मगर सांस्कृतिक संघ जिल्ला समन्वय समिति, कास्कीले कोरानाको महामारीको अवस्थासँगै बाढी पहिरो पिडित मगर कलाकारहरुलाई राहत वितरण गरेको छ ।
नेपाल मगर सांस्कृतिक संघ जिल्ला समन्वय समिति, कास्कीले आइतबार एक कार्यक्रमको आयोजना गरि नगद तथा खाद्यन्न सामाग्री वितरण गरेको हो । स्वदेश तथा विदेशमा रहेका व्यक्तिहरुबाट संकलित करिब रु एक लाख ६७ हजार पांच सयबाट कास्कीमा कर्मथलो बनाएर बस्ने ४४ जना मगर कलाकारहरुलाई सो सामाग्री वितरण गरिएको नेपाल मगर सांस्कृतिक संघ जिल्ला समन्वय समिति, कास्कीले जनाएको छ।
कोराना भाईरस (कोभिड १९) को कारणले बन्दाबन्दी भएको लामो समयपछि लकडाउन खुलेपनि कलाकारहरु आफ्नो पेशामा फर्किन सक्ने अवस्था नरहेकोले केहि राहत स्वरुप मगर कलाकारहरुलाई नगद तथा खाद्यन्न सामाग्री प्रदान गरिएको समिति कास्कीका अध्यक्ष सरिता सारु मगरले जानकारी दिइन् ।

सो अवसरमा बरिष्ठ शिक्षाविद्, राजनितिज्ञ एवं समाजसेवी नवराज गुरुङ, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मोहन गुरुङ लगायतले बिश्वब्यापी रुपमा समस्यामा पारेको कोरोना संक्रमणबाट उत्पन्न परिस्थितिको चर्चा गर्दै पिदितहरुलाई राहत उपलब्ध गराउनमा सबै लाग्नु पर्नेमा जोड दिएका थिए।
नेपाल मगर साँस्कृतिक संघ जिल्ला समन्वय समिति, कास्कीका अध्यक्ष सरिता सारु मगरको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सचिव सुरेश राना मगरले गरेका थिए ।
