बलिउड नायक सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउडको सिने उद्योगमा नेपोटिज्म अर्थात ‘नातावाद’को बिगबिगी रहेको भनेर चौतर्फी आलोचना सुरुवात भएको छ। नातावाद बलिउडको सिने उद्योगमा मात्र हैन, नेपालको कलिउड सिने उद्योगमा पनि छ भनेर आवाज उठ्न थालेको छ। नेपाली चलचित्र क्षेत्रभित्रको विकृतिको विषयमा बोल्नुपर्छ भन्ने सोचाइ कलाकारमा भने बिस्तारै पलाउन थालेको छ ।
नायिका नम्रता सापकोटाले नेपाली चलचित्रमा ‘नोपोटिज्म’ छ र यहाँ बाबुले पैसा लगानी गरेर छोरा हिरो बन्छ भनेर टिप्पणी गरिन्। नम्रताको यो बोलीले चर्चा मात्र पाएन, चलचित्र क्षेत्रमा बहसको विषय नै बन्यो ।
चलचित्र क्षेत्रमा कसरी काम गर्नुपर्छ र कलाकारमाथि कस्तो खालको व्यवहार हुन्छ भन्ने प्रष्ट पार्न खोजेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले त आफूमाथि दुरब्यबहार भएको सार्वजनिक गरेकी छिन।
साम्राज्ञीले अब आफूले पहिले जसरी एक वर्षमा २ वटासम्म चलचित्र नगर्ने र निकै कम चलचित्र गर्ने बताएकी थिइन् । सायद, चलचित्र क्षेत्रभित्र देखिएको यस्तै विकृतिका कारण साम्राज्ञीले यो कदम उठाएको हुनुपर्छ।
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूले अहिलेसम्म ८ वटा चलचित्रमा काम गरेको र यसमध्ये ३ वटा चलचित्रमा निकै नै नराम्रो व्यवहार भोगेको बताएकी छन् । उनले आफूले सबै कुरा भन्न नसक्ने पनि बताएकी छन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियोमार्फत आफ्नो मनको कुरा सेयर गर्दै साम्राज्ञीले भनिन्–‘मैले १७ वर्षको उमेरमा नै चलचित्र क्षेत्रमा डेब्यु गरेँ । त्यतिबेला चलचित्र क्षेत्र सानो भएकाले सबै कुरा बाहिर ल्याउनु हुँदैन भनेर मलाई भन्नुहुन्थ्यो । हरेक चलचित्रको प्रमोसनमा पुग्दा मलाई किन घमण्डी हुनुहुन्छ भनेर प्रश्न सोधिन्थ्यो । यसले मलाई दिक्क बनाउथ्यो ।’ साम्राज्ञीले सो समयमा नै आफ्ना धेरै ट्रोलहरू बनेको पनि बताएकी छन् ।
साम्राज्ञीले काम गरेका प्राय ब्यानरमा उनी दोहोरिएकी छैनन् । यस विषयमा ‘ड्रिम्स’ डेब्यु नायिका भन्छिन्–‘म नदोहोरिनुको कारण उहाँहरूले मलाई गर्ने व्यवहार नै हो । एउटा कलाकारले पाउनुपर्ने सम्मान पनि पाइँदैन यहाँ । कैयौं पटक ह्यारेसमेन्ट भएको छ । तर यी सबै कुरालाई सामान्य जस्तो सोचेर अनुहारमा खुसी देखाएर काम गर्नुपर्थ्यो ।’
साम्राज्ञीले समयमै खाना, पानी उपलब्ध नहुँदा यो विषयमा बोल्दा समेत अपशब्द प्रयोग भएको बताएकी छन् । उनले आफूलाई यस्तो विषयमा बोल्दा निकै नै नराम्रो व्यवहार भएको भन्दै धेरै बेर रोएर फेरि केही नभएजस्तो गरेर काममा फर्किएको अनुभव पनि सुनाएकी छन्।
साम्राज्ञीले एक जना निर्देशकको रुष्ट व्यवहारको विषयमा आफूले सुनेको तर त्यस्तो हुनुहुन्न होला भनेर काम गरेको बताउँदै भनिन्–‘तर मैले काम गरेपछि सबै सोचाइहरू टुटेर गए । मेकरहरू यस्तो विषयमा बोल्न हुन्न भन्नुहुन्छ । तर यस्तो विषय बाहिर नआओस् भनेर सोच्ने मेकरले कलाकारलाई सम्मान गर्न पनि सिक्नुपर्छ ।’
उनले आफूले यो विषयमा बोल्दा आफूलाई माया वा घृणा जे पनि आउन सक्ने बताएकी छिन् । तर आफूलाई नराम्रो प्रतिक्रियाको बानी परिसकेको समेत साम्राज्ञीले सुनाइन् ।
साम्राज्ञीले यसो भनिरहँदा उनको कटाक्ष नायक भूवन केसीमाथि पनि थियो । उनले, केही समय अगाडि भने चलचित्र ‘ड्रिम्स’को छायांकनका क्रममा नायक अनमोल केसी र आफूमाथि पक्षपात गरिएको बताएकी थिइन् ।
साम्राज्ञीले बारम्बार आक्रोश व्यक्त गर्दै सामाजिक संजालमा नाम नै लिएपछि निर्माता तथा निर्देशक भूवन केसीले असन्तुष्टी व्यक्त गरेका छन् ।
साम्राज्ञीलाई भूवनले आफू निर्देशित चलचित्र ‘ड्रिम्स’बाट यो क्षेत्रमा प्रवेश गराएका हुन् । भूवन लेख्छन्–‘खान नपाएको भन्दै सामाजिक संजालमा रोई कराई गर्ने नायिका अहिले कुन चलचित्रको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक संजालमा गर्ने बराबर अभिनय फिल्ममा गरे हुने नी ।’
भूवनले, साम्राज्ञीले आज पनि ‘ड्रिम्स’कै ब्रान्ड बेचेर चलचित्र क्षेत्रमा नाम कमाइरहेको आरोप समेत लगाएका छन् । यो बिषयमा साम्राज्ञीले कुनै जवाफ भने दिएकी छैनन् ।
साम्राज्ञी र नम्रतापछि अन्य कलाकारहरूले पनि आफ्नो भोगाइको विषयमा बोल्न थालेका छन् । हुन त चलचित्र क्षेत्रभित्र समस्या नै समस्या छन् । निर्माताको कलाकारसँग समस्या, कलाकारको निर्देशकसँग समस्या, हलवाला र निर्माताको सधैंको समस्या आदि आदि ।
लकडाउनपछि चलचित्र क्षेत्र अब कसरी अगाडि बढ्छ भन्ने अवस्थामा छ। यस्तो अवस्थामा चलचित्र क्षेत्रमा देखिएका यी समस्याहरूलाई पनि सबैले मनन् गर्नुपर्ने हुन्छ ।