अन्तत: नेपालको राजनीति देशको बर्बाद पार्ने दिशातिर अघि बढेको छ। राजनीति तिकडमबाजी र नगदी कारोबारमा जसरी अघि बढिरहेको छ।
झन्डै दुई-तिहाई बहुमत पाएको कथित कम्युनिस्ट सरकार धरमरमा परेको छ भने सत्तारुढ नेकपा विभाजनको अन्तिम चरणमा पुगेको छ।
प्रधानमन्त्री एबम सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओली इतरका सत्तारुढ नेकपाका नेताहरु ओलीलाई एकजुट भएर घोक्रेठ्याक लगाउने अन्तिम तयारीमा लागेका छन् भने प्रधानमन्त्री ओली रक्षात्म्क अवस्थामा सके आफ्नो पदको सुरक्षा गर्ने, नभए कुनै बहाना बहाना बनाएर मुलुकमा संकटकाल लगाउने वा संविधानको कुनै छिद्र भाग खोजेर मध्यावधि गर्ने सोंचमा पुगेका छन्।
यस्तो सत्तारुढ नेकपाको किचलो अब सम्भब भए पार्टी स्थायी कमिटीले र त्यो पनि सम्भब नभए केन्द्रिय कमिटीले टुंग्याउने सम्भावना देखिएको छ। त्यसैको तयारी स्वरुप आज संज सत्तारुढ नेकपाको केन्द्रिय सचिबालय बैठक बस्ने भनेको छ। हिजो सत्तारुढ नेकपाका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको वार्ताले केन्द्रिय सचिबालय बैठक बोलाउने निर्णय गरेको हो। अब पार्टीभित्रको बिबाद पार्टी केन्द्रिय सचिबालय बैठक हुँदै सम्भवत: स्थायी कमिटि बैठकसम्म पुग्नेछ।
सकेसम्म प्रधानमन्त्री पद जोगाउने दाउमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास हिजोको नेता माधब कुमार नेपाल संगको अन्तिम एबम निर्णायक वार्तापछि विफल भएको छ। उनले पार्टी अध्यक्ष पद नेपाललाई दिने र आगामी असोज महिनासम्म महाधिबेशन गर्ने प्रस्ताब गरेका थिए। तर नेता नेपालले असोजसम्म महाधिबेशन सम्भब नै नभएको ताथ उधारो सहमतिको काम नभएको भन्दै ओलीको प्रस्ताब अस्वीकार गरेका थिए।
यसैबीच प्रधानमन्त्री पद जोगाउने अध्यक्ष केपी शर्मा ओलीको अन्तिम प्रयास विफल भएको र आफु इतरका नेताहरुले पार्टीको स्थायी कमिटि बैठकमार्फत आफुलाई प्रधानमन्त्री पद र पार्टी अध्यक्ष समेतबाट घोक्राउन सक्ने सम्भावना देखेपछि ओली अब सांसद खरीद बिक्रीको धन्दामा लागेका छन् भने आफु समर्थक सांसदहरुलाई ‘पार्टी कुनै पनि बेला फुट्छ। मानसिक रुपमा तयारी भएर बस्न’ भन्दै ओलीले निर्देशन दिएका छन्।
ओलीले प्रधानमन्त्री पद जोगाउन संसदीय दलमा आफ्नो पक्षको बहुमत साबित गर्ने खेलो शुरु गरेका छन्। यसका लागि ओलीलाई करिब १० सांसदको कमी छ ।
केपी ओलीसँग बिष्णु पौडेल रहँदासम्म उनको यो संख्या हो । प्रदेश नम्बर ५ का केही सांसदहरु विष्णु पौडेल जता जान्छन्, उनकै पक्षमा जानेखालका छन् । छविलाल विश्वकर्मा, दलबहादुर रानाहरुमात्र होइन, हृदयेश त्रिपाठी र बृजेश गुप्ताहरु पनि पौडेलसँग निकट छन् ।
प्रचण्ड र माधव नेपाल पक्ष आपसमा मिलेका कारण पार्टीका सबै निकायमा केपी शर्मा ओलीले बहुमत गुमाएका छन् । सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी कहीँ पनि ओली पक्षको बहुमत छैन । तर, प्रतिनिधिसभा संसदीय दलमा भने ओलीको पक्षमा ४० प्रतिशत भन्दा बढी झण्डै ४५ प्रतिशत सांसदहरु देखिएका छन् ।
गत माघमा आयोजित बैठकताका निकालिएको पार्टीभित्रको हिसाबअनुसार नेकपाका ४३७ केन्द्रीय सदस्यमध्ये केपी ओलीको पक्षमा ३२ प्रतिशत अर्थात १४० सदस्य छन् ।
संसदीय दलको शक्ति सन्तुलन
२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार टिकाउने बहुमतका लागि एकसय ३८ जना सांसद चाहिन्छ । अहिले नेकपासँग अत्यधिक बहुमत अर्थात, कुलएक सय ७४ सांसद छन् । यीमध्ये पूर्वएमालेबाट एक सय २१ र पूर्वमाओवादीबाट ५३ जना सांसद प्रतिनिधिसभामा छन् ।
प्रतिनिधिसभामा पूर्वएमालेबाट प्रत्यक्षतर्फ ८० र समानुपातिकतर्फ ४१ सांसद छन् भने पूर्वमाओवादीबाट प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ सांसद छन् । पूर्वएमालेका एक सय २१ मध्ये ओली समूहका ७८ जना छन् भने माधव नेपाल समूहका ४३ सांसद छन् ।
यो हिसाबमा फेरबदल आएन भने नेकपाको संसदीय दलमा बहुमत नगुमाउन र दलको नेताबाट हटाउने योजना असफल पार्न केपी ओलीलाई थप १० सांसद आवश्यक पर्ने देखिन्छ ।
पूर्वमाओवादीका सबै प्रचण्डकै नेतृत्वमा रहँदा उनीसँग ५३ सांसद रहनेछन् । यो अवस्थामा माधव नेपाल, झलनाथ र वामदेव पक्षका बाँकी सांसद एकै ठाउँमा उभिँदा दलको नेताबाट ओलीलाई हटाउन संख्या पुग्छ ।
तर, यो संख्या एक दर्जन हाराहारीमात्रै हुने भएकाले १० जनालाई आफूतिर तान्न सकिने विश्वासमा ओली खेमाका नेताहरु देखिन्छन् । राजनीतिक चलखेल हुँदै जाँदा केही संख्या यताउति हुन सक्ने सम्भावना पनि छ । त्यसो त प्रचण्ड खेमामा उभिएका तोप बहादुर रायमाझी, लेखराज भट्ट र गृह मन्त्री रामबहादुर थापाले प्रचण्डलाई सहयोग नगर्ने संकेत देखिएको छ। उनीहरु पार्टीको बहुमतको सरकार हुँदाहुँदै प्रधानमन्त्री एबम पार्टी अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध हस्ताक्षर अभियान नै शुरु गरिनु गलत भन्दै सार्वजनिक अभिव्यक्ति दिई रहेका छन्। तर उनीहरुले अन्त्यमा गैर कसलाई साथ् दिने हुन् त्यो भने प्रस्ट छैन। पार्टी विभाजनको अवस्थामा नपुग्दासम्म नेकपाका कतिपय सांसदहरु आफ्नो कित्ता प्रष्ट पार्न पनि चाहँदैनन् । पार्टी विभाजनको तहमा पुग्दा मात्रै उनीहरुको कित्ता प्रष्ट हुने नेताहरु बताउँछन् ।
यस्तै अवस्थामा केपी ओली पक्षका नेताहरुले १०/१२ जना सांसदलाई आफूतिर तानेर संसदीय दलमा एक्लै बहुमत बनाउन सकिने दाबी गरिरहेका छन् । उता प्रचण्ड र माधव नेपाल पक्षका नेताहरु चाहिँ संसदीय दलमा ओलीले बहुमत गुमाइसकेकोमा ढुक्क देखिएका छन् ।