पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ ।
प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिता जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न पुगेकी थिइन् । तर उनलाई प्रहरीले यो केश आफ्नो क्षेत्रात्राधिकारभित्र नपर्ने भन्दै फर्काइदिएको हो ।
रवि पत्नी निकिता, दाजु हरिशरण लामिछाने र अधिवक्ता राजेन्द्र सेढाइले उक्त विषयमा प्रहरी उपरीक्षक अशोक सिहसँग आधा घण्टा छलफल गरेका थिए । छलफलमा सहभागी प्रहरी उपरिक्षक अशोक सिहले यो विषय प्रहरीको क्षेत्राधिकारभित्र पर्ने नभई अदालतले छिनोफानो गर्ने विषय भएको बताए ।
समाचार स्रोतका अनुसार, निकिताको निवेदन भिडियोको ल्याव रिपोर्टसँग नमिलेपछि प्रहरीले जाहेरी लिन अस्वीकार गरेको हो ।
निकिता पौडेलको अधिवक्ता राजेन्द्र सेढाईले भने प्रहरी उजुरी दर्ता गर्न नमानेको बताए । पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ अनुसन्धान गरिरहेको छ।