नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टर इटहरीमा कार्यरत मेजर अजितप्रताप सिंह लागूऔषधसहित पक्राउ परेका छन् । इटहरीको हलगढामा रहेको सेनाको पूर्वी पृतना हेडक्वार्टर छेऊबाट कैलालीको धनगढी घर भएका मेजर सिंहलाई पक्राउ गरिएको हो ।
लागूऔषध नियन्त्रण ब्युरो, काठमाडौं र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले उनलाई शनिबार पक्राउ गरेको थियो । प्रहरी स्रोतका अनुसार उनको साथबाट डेढ ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको छ ।
इटहरीका डीएसपी समिरचन्द्र खरेलले सिंहलाई पक्राउ गरिएको पुष्टि गरे ।
सैनिक स्रोतले मेजर सिंह साँझ ६ बजे पृतनाबाट बाहिर निस्किएको पुष्टि गरेको छ । स्रोतले भन्यो- ‘उहाँलाई पृतना बाहिर सर्पदंश केन्द्र छेउबाट प्रहरीले लगेको सूचना आएको छ ।’
घटनाबारे जानकारी प्राप्त भएलगत्तै सैनिक प्रहरीको टोली नेपाल प्रहरीसँग समन्वयका लागि निस्किएको स्रोतले बतायो । प्रहरीले पनि अनुसन्धान जारी राखिएको जनाएको छ ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले लागूऔषधसहित सैन्य अधिकारी पक्राउ भएको पुष्टि भए सैनिक ऐन अनुसार कारबाही हुने बताए। त्यस्ता घटनाहरुमा नेपाली सेनाले कोर्ट अफ इन्काइरी गठन गर्ने र समरी सैनिक अदालतले कारबाही गर्ने प्रावधान रहेको प्रवक्ता पाण्डेले जानकारी दिए। उनले गैरकानूनी क्रियाकलापमा संलग्न हुने सैन्य अधिकारीहरुको डिमोसनसमेत हुन सक्ने बताए।