लेखक,पत्रकार तथा सांस्कृतिककर्मी खेम थपलिया काठमाण्डौको बागबजारबाट गिरफ्तारीमा परेका छन्। प्रगतिशील लेखक संघ (प्रलेस)सँगै जोडिएको जलजला मासिकको कार्यालयबाट शनिबार दिउँसो थपलिया गिरफ्तारीमा परेका हुन्। उनलाई गिरफ्तार गर्न ससस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको बताइएको छ । प्रहरीले उनको कार्यालयमा रहेका कम्प्युटर र कागजातसमेत लगेको छ।
थपलिया नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव हुन्। यसै संगठनका अध्यक्ष माइला लामा पक्राउ परेपछि संगठनको तर्फबाट थपलियाले नै सरकारविरुद्ध विज्ञाप्ति जारी गरेका थिए। लामा पक्राउ परेपछि पनि थपलिया नियमित कार्यालय आउने गरेका थिए।
महासचिव थपलिया प्रगतिवादी लेखक, संस्कृतिकर्मी एवं पत्रकार समेत हुनुहुन्छ । थपलियाले डेढ दर्जन भन्दा बढी विभिन्न समालोचना, नाटक, एकाङ्की एवं विभिन्न विधाका पुस्तकहरु प्रकाशन गर्नुभएको छ । पछिल्लो पटक थपलियाको “माक्र्सवादी समालोचना सिर्जना र संघर्ष”, “खोर” र “टिप्पन समालोचना” प्रकाशित भएको छ । खोर हिरासत बस्दाको अनुभूति सहितको पुस्तक हो ।
थपलिया लामो समयदेखि लेखन क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । उहाँ वामपन्थी लेखकहरुको साझा संगठन प्रगतिशील लेखक संघ, नेपालका केन्द्रीय उपाध्यक्ष समेत हुनुहुन्थ्यो । थपलिया जनयुद्धकालीन पुरानो पत्रकार समेत हुनुहुन्छ । उहाँलाई निर्वाचनको समयमा समेत सरकारले गिरफ्तार गरेको थियो । उहाँको “उनी मरेका छैनन्” नाटक निकै चर्चामा रहेको छ ।
उहाँको “कला र साहित्यमा, दुईलाईन संघर्ष” प्रगतिवादी समालोचनाको क्षेत्रमा महत्वपूर्ण पुस्तक समेत रहेको छ ।