आफन्तको बेवास्ताले सफाई पाएको दुई वर्ष हुँदा पनि जेलको बास

आफन्तको बेवास्ताले सफाई पाएको दुई वर्ष हुँदा पनि जेलको बास


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २४ साउन २०७६
  • 6.5K
    Shares

गौबहादुर गुरुङ

अदालतले सफाई दिएर जेलमुक्त गर्न आदेश दिएपनि आफन्तले बेवास्ता गर्दा तनहुँका गौबहादुर गुरुङ बिगत दुई वर्षदेखी नख्खु कारागारमा जेल जीवन बिताइरहेका छन्।

शुक्लागण्डकी नगरपालिका–२ का ३१ वर्षीय गौबहादुरलाई २०७२ साल कार्तिक १९ गते ७६ वर्षीया काकी रुममाया गुरुङको हत्या गरेको आरोप थियो । जिल्ला अदालत तनहुँले २५ चैत ०७२ मा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । जिल्लाको फैसलाविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।

१० वैशाख ०७४ मा उच्च अदालत पोखराको संयुक्त इजालसले मानसिक रोगी गौबहादुरलाई सफाइ दिएर अभिभावक वा संरक्षकको रोहवरमा थुनामुक्त गर्न आदेश दिएको थियो। सोही दिन पोखरा उच्च अदालतले नख्खु कारागारलाई पत्राचार गरी गौबहादुरलाई कुनै प्रकारको सजाय नहुने जानकारी गराएको थियो ।

कारागार कार्यालय नख्खु सुधारगृहका प्रमुख वेदप्रसाद अर्यालले अदालतको आदेशलगत्तै गुरुङ परिवारलाई ताकेता गर्दा बेवास्ता गरेको बताए । ‘अदालतको आदेशकै दिनबाट गुरुङ थुनामुक्त भएका हुन् । तर, अदालतको आदेशअनुसार परिवार लिन नआउँदा उनी दुई वर्षदेखि कारागारमै बस्न बाध्य छन्,’ प्रमुख अर्यालले भने ।

गौबहादुरका दाइ विष्णुबहादुर गुरुङले भने परिवारभित्र अपराध गरेकाले भाइलाई घर फर्काउन नसकेको बताए । भाइलाई घर फर्काउँदा छरछिमेकले असुरक्षित महसुस गर्ने भएकाले कारागारबाट स्विकार्न नसकिएको उनले बताए ।

प्रतिक्रिया