बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सुरक्षाकर्मीहरुमाथि आक्रमण गर्ने आफ्नो पार्टीको नीति नरहेको सार्वजनिक अभिव्यक्ति दिईरहंदा नेपाल सरकार अन्तरगत रहेको अर्ध सैन्य बल सशस्त्र प्रहरीका महानिरीक्षक (आइजिपी) शैलेन्द्र खनालले बिप्लव नेतृत्वको ने.क.पा.बिरुद्ध परिचालित हुन तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) खनालले जुनसुकै बेला सुरक्षा चुनौती आउन सक्ने भन्दै बुधबार बाहिनीपतिहरूलाई सुरक्षा चुनौतीको सामना गर्न तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्।
नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको प्रतिबन्धित ने.क.पा. को गतिविधि बढिरहेका बेला सशस्त्र प्रहरी महानिरीक्षक खनालको यस्तो निर्देशन आएको हो। उनले यसअघि गणपति र गुल्मपतिहरूलाई पनि निर्देशन दिएका थिए।
केही दिनअघि गृह मन्त्रालयमा बसेको सुरक्षा प्रमुखहरूको बैठकमा विप्लव ने.क.पा.को गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरी परिचालन गर्नुपर्ने विषयमा छलफल भएको थियो। सो समूहले देशभर २५ भन्दा बढी टेलिकम टावरमा बम विस्फोट गराएपछि गत शुक्रबार मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, शान्ति सुरक्षा महाशाखा प्रमुख रामकृष्ण सुवेदीसहित सुरक्षा निकायका प्रमुखहरूको बैठकमा विप्लव समूहप्रति कडा नीति अख्तियार गर्ने र सशस्त्र प्रहरीलाई नियमअनुसार परिचालन गर्ने विषयमा छलफल भएको हो। हाल ७७ वटै जिल्लामा सशस्त्र प्रहरी कार्यालय स्थापना भइसकेको छ।