ने.क.पा.का निष्काशित दुई केन्द्रिय सदस्य गिरफ्तार, तीन दिनपछि समाचार सार्वजनिक

ने.क.पा.का निष्काशित दुई केन्द्रिय सदस्य गिरफ्तार, तीन दिनपछि समाचार सार्वजनिक


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २१ साउन २०७६
  • 8.3K
    Shares

डम्बर बिक

पार्टीबाट निष्काशनमा परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिका दुई जना केन्द्रिय सदस्य सहित तीन जनालाई प्रहरीले काठमाण्डौबाट गिरफ्तार गरेको छ।  प्रहरीद्वारा गिरफ्तारीमा परेका निष्काशित केन्द्रिय सदस्यहरुमा डम्बरबहादुर विक ‘मामा’ र मकर गुरुङ  रहेका छन् । उनीहरु दुवै जना उमेरका हिसाबले पनि ६० वर्ष नाघेका बृद्ध नेताहरु हुन्।  उनीहरुसंगै गिरफ्तारीमा परेकी अर्की कार्यकर्ता हुन् उमा गुरुङ ।

उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उमा गुरुङको मैतीदेवीस्थित घरबाट तीन दिन अघि गिरफ्तार गरिएको पारिवारिकस्रोतले जानकारी दिएको छ।

तीनदिन अघि नेता बिकले आफुलाई प्रहरीले गिरफ्तार गरेको सुचना टेलिफोनमार्फत आफु निकट पारिवारका सदस्यलाई दिएका थिए।  त्यसपछि उनी पूर्ण रुपमा सम्पर्कबिहिन भएकोमा आज एक्कासी आएर प्रहरीले उनीहरुलाई गिरफ्तार गरिएको बताइएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले “उनीहरुलाई ‘हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको” जानकारी दिए । प्रहरीले विकलाई विप्लव समूहको केन्द्रीय सदस्य भनेको छ । तर, समूहका नेता भने १७ जना निष्कासित केन्द्रीय सदस्य मध्ये उनी पनि एक भएको बताउँछन् ।

विक सरकारसँग वार्ता गर्नुपर्छ भन्ने पक्षका नेता भएको बताइन्छ । मकर पार्टीका वैकल्पिक केन्द्रीय सदस्य हुन् भने उमा तमुमुक्ति मोर्चाको पूर्वकेन्द्रीय सदस्य हुन् ।

यसअघि आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विप्लव समूहका नेता जीवन कार्की जीवन्तलाई रिहा गरेको थियो ।

कार्कीले हिरासतबाटै विप्लव समूहसँग वार्ताको विकल्प नभएको धारण सञ्चारमाध्यममार्फत सार्वजनिक गरेका थिए ।

यसैबीच प्राप्त जानकारी अनुसार,  नेकपाले बैतडीमा नेकपाका समर्थक र आफ्नो पार्टीका साधारण सदस्यनयनसिंह धामी र बाजुराबाट लक्ष्मीराज जोशीलाई बेपत्ता पारेको जनाएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय बनेपाले शुक्रबार राति पनौती–४ बाट नेकपाका अनिल रायमाझी र सुन्दर रायमाझीलाई गिरफ्तार गरेको जनाइएको छ ।

यसैबीच नुवाकोटमा पनि नेकपाका समर्थक बच्चुराम लामिछानेलाई प्रहरीले गिरफ्तार गरेको छ । काठमाडौँको कीर्तिपुरमा स्टेसनरी पसल सञ्चालन गर्दै आएका लामिछानेलाई नुवाकोटबाट आएको प्रहरी टोलीले गए राती कीर्तिपुरबाट गिरफ्तार गरेको हो । उनलाई राति नै नुवाकोट लगिएको छ ।

यस्तै अखिल (क्रान्तिकारी) का पूर्वकेन्द्रीय सदस्य हेमन्त जीसीलाई प्रहरीले दाङ, घोराहीबाट गिरफ्तार गरेको छ । जीसीलाई अपहरण शैलीमा गिरफ्तार गरी झुट्टा मुद्दा लगाएर फसाउन खोजि रहेको भन्दै क्रान्तिकारीले बिनासर्त सम्मानपूर्वक रिहाइको माग गरेको छ । साथै व्यक्तिगत काममा हिँडिरहेको व्यक्तिलाई झूट्टा मुद्दा लगाएर फसाउन खोजेको भन्दै चुप लागेर नबस्ने र प्रतिरोध गर्ने क्रान्तिकारीले बताएको छ ।

प्रतिक्रिया