प्रम केपी शर्मा ओली लगायतका नेपाली नेताहरुलाई बिबादित होली वाइन खुवाएकी दक्षिण कोरियाली क्रिश्चियन धर्मप्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनकी प्रमुख सिन ओक जुलाई कोरियाली अदालतले ६ वर्षे कैद सजाय सुनाएको छ ।
बिबिसीका अनुसार सन् २०१४ मा आफ्ना चारसय जना अनुयायीलाई फिजी टापुमा लगी बन्धक बनाई यातना दिएको अभियोगमा अदालतले उनलाई दोषी प्रमाणित गरेर ६ वर्षे कैद सजाय सुनाएको हो । ती अनुयायीको राहदानी जफत गरी उनीहरूको प्रेत भगाउने नाममा चरम यातना दिएको अदालतको ठहर छ ।
गत वर्ष डिसेम्बरमा नेपाल आई प्रधानमन्त्री ओली, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतको विशेष साथसहयोगमा उनको संस्थाले नेपालमा विवादास्पद ‘होली वाइन’ सम्मेलन आयोजना गरेको थियो । आफूलाई ईश्वरकी छोरी दाबी गर्ने उनले सम्मेलनका सहभागीलाई ‘होली वाइन’ बाँडेकी थिइन् । उनी ‘होली वाइन’ माताका रूपमा चर्चित छन् । क्रिश्चियन धर्मप्रचारक उक्त संस्थाको नेपाल हर्ताकर्ता नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल हुन् ।