तनहुँ र स्याङ्गजाबाट ने.क.पा.का पांच कार्यकर्ता गिरफ्तार

तनहुँ र स्याङ्गजाबाट ने.क.पा.का पांच कार्यकर्ता गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ साउन २०७६
  • 6.1K
    Shares

ने.क.पा. तनहुँ बिज्ञप्ति

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा.का स्याङ्गजा र तनहुँका गरी पांच जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ।

प्रहरीले तनहुँबाट  दुईजना कार्यकर्ता गिरफ्तार गरेको छ । आँबुखैरेनी–३ बाट जिल्ला कमिटी सदस्य गणेश थापा क्षेत्री र घिरिङ–२ बाट एरिया कमिटी सदस्य धनबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो ।

बिहिबार राति घिरिङमा एनसेलको टावरमा आगजनी गरेको भोलिपल्टै शुक्रबार राति विप्लवका कार्यकर्ता पक्राउ परेका हुन् ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी तनहुँका जिल्ला सेक्रेटरी बिकाशले एक प्रेस बिज्ञप्ति प्रकाशित गरी लामो बिरामीपछि उपचार गर्दै आफ्नै घरमा आराम गरिरहेका बेला पार्टीका जिल्ला सदस्य गणेश थापा क्षेत्रीलाई गिरफ्तार गरेकोमा आपत्ति प्रकट गरेका छन्।  उनले विज्ञप्तिमार्फत गिरफ्तार नेताहरुलाई बिना शर्त छाड्न आव्हान गर्दै अन्यथा अनाबश्यक धरपकड र दमनको जवाफ दिने चेताबनी दिएका छन्।

पार्टीका जिल्ला ईन्चार्ज पूर्णजीत पुनले आफ्ना कार्यकर्तालाई फसाउन गलत आरोपमा पक्रने काम भइरहेको बताए ।

तनहुँ प्रहरीले हालसम्म विप्लवका झण्डै एक दर्जन नेता कार्यकर्तालाई पक्राउ गरिसकेको छ । पछिल्लो समय तनहुँमा पनि विप्लवका कार्यकर्तामाथि प्रहरीले निगरानी बढाएको छ ।

यसैबीच प्राप्त जानकारी अनुसार, प्रहरीले स्याङ्गजाबाट पनि नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ।  प्रहरीको गिरफ्तारीमा पर्नेहरुमा थानेश्वर केसी, श्याम अर्याल र सेराली मिया रहेका छन्।  उनीहरुलाई आफ्नै घर बसिरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको बताइएको छ।  तिनै जनालाई हाल जिल्ला प्रहरी कार्यालय स्याङ्गजाको हिरासतमा राखिएको प्राप्त समाचारमा जनाइएको छ।

 

प्रतिक्रिया