अज्ञात समूहद्वारा मेचीदेखि महाकालीसम्म एकैसाथ एनसेलमाथि हमला !

अज्ञात समूहद्वारा मेचीदेखि महाकालीसम्म एकैसाथ एनसेलमाथि हमला !


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १६ साउन २०७६
  • 5.2K
    Shares

अज्ञात समूहद्वारा बुधबार राती देशका विभिन्न स्थानहरुमा (मेचीदेखि महाकालीसम्म) एकैसाथ एनसेलमाथि हमला भएको समाचार प्राप्त भएको छ । मेची–कोशीका ३ जिल्लामा एनसेलका ३ वटा टावर ध्वस्त भएका छन् । पाँचथर जिल्लास्थित थर्पुको एक टावर, मोरङ्ग जिल्लाको पथरी नगरपालिका वार्ड नम्बर १० स्थित एक टावर र झापा जिल्लाको बुद्धशान्ति नगरपालिकास्थित कालिस्थान भन्ने स्थानमा एक टावर गरेर ३ वटा टावर ध्वस्त भएका छन् ।

त्यसैगरी ललितपुर जिल्लाको कोनजोसोम गाउँपालिका संखुमा पनि एनसेल टावरमाथि गएराती ११ बजे आगजनी भएको खबर  छ । सल्यानमा पनि एनसेल टावरमा आगजनी भएको छ । पुर्वि नवलपरासीको कावासोती १० मगरकोटमा रहेको एनसेलको टावर पनि अज्ञात समुहले आगजनी गरेका छन् । आगजनीबाट टावरमा राखिएको जेनेरेटर जलेर पुर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । टावरमा लागेको स्थानिय र प्रहरीको पहलमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगजनी गर्नेको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

यसैगरी कैलाली जिल्लामा पनि एनसेलको टावरमा आगजनी भएको त्यहास्थित हाम्रा सम्बाददाताले जनाएका छन् । धनगढी उप–महानगरपालिकामा १, टिकापुर नगरपालिकामा १, लम्की नगरपालिकामा १, र जानकीमा २ एनसेलका टावर ध्वस्त भएको छ । डडेल्धुराको महाभात हगुल्टेलेकको काफली टावर र गोगनपानी सुदुरपश्चिमको मुल टावरलाई समेत ध्वस्त भएको छ । डोेटीको शैली शिखरको कफलेखि टावर, अछाममा बिनायक तुर्माखाँदमा गरि दुईवटा टावर ध्वस्त भएका छन् । बाजुराको बुढीगंगाको बार्जुकोटमा रहेको टावर, बझाङमा थलारा, मस्टा र चिरबिथ्थड गरी तीनवटा टावर ध्वस्त भएका छन् । त्यस्तै बैतडीको दोगाडाको सित्तड र पुर्चाैडिको कुडिमा गरी दुईवटा टावर त्यस्तै कञ्चनपुर र दार्चुलामा पनि एनसेल टावर ध्वस्त भएको छ । यस्तै यता बुधबार राति गण्डकी प्रदेशका ६ वटा जिल्लाका एनसेल टावरमा आगजनी भएको हो । कास्की, पर्वत, बागलुङ, म्यादी, तनहुँ, र गोर्खाका विभिन्न ठाउँमा रहेको एनसेल टावरमा आगजनी भएको खबर प्राप्त भएको छ।

राज्यलाई अरबौं कर नतिरेरै आफ्नो ब्यवसाय संचालन गरिरहेको एनसेलमाथि ब्यापक जनदबाब रहेको छ । बिगतदेखि नै नेपाल कम्युनिस्ट पार्टीले एनसेलले कर तिर्नु पर्ने माग राख्दै एनसेललाई चेतावनी स्वरुप कारबाही गर्दै आइरहेको छ । नागरिक अगुवाहरुले पनि एनसेलले कर तिर्नु पर्ने दबाब दिइराखेका छन् । त्यस्तै नेकपाका युवा नेताहरु, बिद्यार्थीहरुले नो ट्याक्स नो एनसेल अभियान पनि संचालन गरिरहेका छन् । सरकारले एनसेलसँग कर लिन सक्ने आफ्नो क्षमता नदेखाइरहँदा दबाब स्वरुप पुनः यो कारबाही हुनुले नेकपाले गरेको हुन सक्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया