हावाहुरी पीडितलाई राहत वितरणमा बदमासी गरेको भन्दै हावाहुरी पीडितहरुले धनगढी उप–महानगरपालिकाको वडा नम्बर १२ को कार्यालयमा तालाबन्दी गरेका छन् । हावाहुरी पीडितहरुले वास्तविक पीडितको सूचि राहत पाउनेमा नराखिएको भन्दै वडा नम्बर १२ वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
धनगढी उप–महानगरपालिकामा हावाहुरीले क्षति पुर्याएको भनी प्रहरीले दिएको मुचुल्कामा वडा नम्बर १२ जुगेडाका अधिकांश पक्की घर भएकाको नाम उल्लेख भएको तर वास्तविक हावाहुरी पिडितको नाम उल्लेख नभएकाले आफुहरुले राहत नपाएको पिडितहरुले गुनासो गरे।
धनगढी उप–महानगरपालिकालाई प्रदेश सरकारले हावाहुरी पीडितकालागि राहत विवरण गर्न एक करोड २७ लाख ६५ हजार दिएको थियो । प्रतिपरिवार पाँच हजार र १० हजारका दरले राहत वितरण गर्न कार्यविधि बनाइएको छ ।
गत जेठ २३ गते गएको हावाहुरीका कारण धनगढी उप–महानगरपालिकामा मात्र दुई हजार पाँच सय ५० घरमा आंशिक क्षति र तीन घरमा पूर्ण क्षति भएको तथ्याङक थियो ।