ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी मान्यताअनुसार मानव समाज विकासले विभिन्न ऐतिहासिक चरण पार गर्दैआएको देखिन्छ । यसमा आदिम साम्यवाद, दास युग, सामन्ती युग, पुँजीवादी युग अनि समाजवादी ऐतिहासिक युगको अभ्यास भइसकेको छ । समाजवादी राज्य रूपको पनि तीनवटा विशेषता देखिन्छ । यसमा काल्पनिक, वैज्ञानिक र उपभोक्तावादी समाजवाद पर्छ । औद्योगिक क्रान्तिको विकाससँगै पुँजीवादको जन्म भयो । यसमा मजदुर र मालिकबीच चरम अन्तरविरोधपूर्ण अवस्था रह्यो । शोषण, विभेद र असमानता पुँजीवादको पर्याय नै बन्न पुग्यो । यही वस्तुगत धरातलमा पुँजीवादको विकल्पबारे वैज्ञानिकहरूले बहस प्रारम्भ गरे ।
यसैक्रममा दार्शनिकहरूले शोषण र विभेदरहित आदर्श समाजको परिकल्पना गर्न थाले । उनीहरूको आदर्श समाजलाई नै काल्पनिक समाजवाद भनियो । यो अवधारणा अपनाउने दार्शनिकमा साइन्ट सिमन, रोवटै ओवेन, चाल्र्स फ्युरीयर र प्रुँधोलगायत थिए । तर, उनीहरूले ऐतिहासिक रूपमा विकसित सर्वहारा र पुँजीपती वर्गबीचको सङ्घर्षको निरन्तर प्रक्रियाबाट मात्र समाजवाद सम्भव हुन्छ भन्ने वैज्ञानिक मान्यता अन्वेषण गर्न सकेन । यसकारण यो अवधारणा काल्पनिक हुनपुग्यो ।
यता माक्र्स र एङ्गेल्सले काल्पनिक समाजवादको खण्डन गर्नुभयो । सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र सार्वजनिक गर्दै वैज्ञानिक समाजवादी अवधारणा अन्वेषण गरे । यसमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पक्षको स्वरूप स्पष्ट गरिएको छ । उनीहरूले पुँजीवादी साम्राज्यको गर्भबाट नै वैज्ञानिक समाजवाद जन्मिने ऐतिहासिक भौतिकवादी मान्यता अघि सारे । यस आलेखमा वैज्ञानिक समाजवादको विशेषताको चर्चा गरिएको छ ।
(क) राजनीतिक विशेषता ः विकसित पुँजीवाद र साम्यवादबीचको सङ्क्रमणकालीन राज्य व्यवस्था नै वैज्ञानिक समाजवाद हो । यो साम्राज्यवाद, विस्तारवाद, उपनिवेशवाद र दलाल पुँजीवाद विरोधी राज्य व्यवस्था हो । यो समुदाय केन्द्रित सामाजिक आर्थिक पद्धतिमा आधारित हुन्छ । आर्थिक विकासको सामाजिक सम्बन्धको विशिष्ट ऐतिहासिक चरण हो । वैज्ञानिक समाजवाद बनीबनाउ र आकस्मिक रूपमा नभएर ऐतिहासिक विकासक्रमको शृङ्खलामा विकसित उत्पीडक र उत्पीडित वर्गबीचको सङ्घर्षको लामो प्रक्रियाबाट स्थापित हुन्छ । प्राथमिक चरणमा पुँजीवादी र समाजवादी द्वैध आर्थिक पद्धति अस्तित्वमा रहन्छ तर उच्च चरणमा आर्थिक, सामाजिक र सांस्कृतिक स्वरूप समाजवादीकरणको उच्चतम बिन्दुमा पुग्छ, जहाँ पैसाको मूल्य, ज्याला र पुँजीसञ्चय न्यून हुँदै जान्छ । यसैको जगमा साम्यवाद निर्माण गरिन्छ ।
प्रगतिशील पुँजीवादमा जनताको अधिनायकत्व हुन्छ भने वैज्ञानिक समाजवादमा सर्वहारा (उत्पीडित) वर्गीय अधिनायकत्व हुन्छ । सम्पूर्ण जनतालाई एउटै समाजवादी राजनीतिक मिसनमा गोलवन्द गरिन्छ । सिङ्गो मानव समाज एउटै लक्ष्य र गन्तव्यको ऐतिहासिक प्रक्रियामा गोलवन्द हुन्छ । बहुसङ्ख्यक सर्वहारा वा उत्पीडित वर्गीय अधिनायकत्वअन्तर्गत उत्पादक शक्तिको अधिकतम विकास गरिन्छ । सार्वजनिक, सहकारी र सामूहिक मनोवैज्ञानिक सोच र चिन्तनलाई लामो सङ्घर्षको प्रक्रियाबाट संस्थागत गरिन्छ । यो लामो आन्दोलन हो, जुन सबैको सचेत र सङ्गठित प्रक्रियाबाट मात्र सम्भव हुन्छ ।
वास्तवमा यो समाज विकासको ऐतिहासिक प्रक्रियाकै एउटा महŒवपूर्ण चरण हो । यो सर्वोत्तम र उन्नत साम्यवादी विश्व व्यवस्थाको आधारशीला हो । यो अस्थायी र सङ्क्रमणकालीन हुने गर्छ । राज्यको सबै सत्ता एकल समाजवादी मिसनमा आ–आफ्नो ठाउँबाट क्रियाशील रहन्छ । त्यति मात्र होइन, यो वर्ग सचेत क्रान्तिकारी जनताको सङ्क्रमणकालीन वर्गीय अधिनायकत्वसहितको राज्य व्यवस्था हो । यसमा समानता र सामाजिक न्यायको पूर्ण प्रत्याभूति हुन्छ ।
(ख) आर्थिक विशेषता ः राजनीति र अर्थतन्त्र अन्तरसम्बन्धित आयाम हुन् । सार्वभौमतः वैज्ञानिक समाजवादका लागि अर्थतन्त्रको चरित्र पनि सामूहिक र सामाजिक हुने गर्छ । यसमा राष्ट्रिय औद्योगिक अर्थतन्त्रको पूर्ण आकारमा विकास गरी त्यसलाई समाजवादीकरण गरिएको हुन्छ । समाज पूर्ण रूपमा औद्योगीकृत हुनुपर्छ । सामानको प्राचुर्यता र सेवा पर्वाह व्यापक रूपमा गरिन्छ । आन्तरिक पुँजीको बृहत्तर विकास पछिको सामूहिक तथा न्यायपूर्ण परिचालन र वितरणको समग्रता नै समाजवादी अर्थतन्त्रको सार हो । उद्योग, कलकारखाना र अन्य आर्थिक एकाइलाई राष्ट्रियकरण र सहकारीमा पुनःसङ्गठित गर्दै समाजवादीकरण गरिन्छ । अर्थतन्त्रको मूलभूत चरित्र सार्वजनिक, सामूहिक र सहकारी पद्धतिमा आधारित हुन्छ । श्रमशक्ति खरिद बिक्रीको अन्त्य गर्दै समाजका सदस्य मजदुर–मालिक एउटै भूमिकामा रहन्छ । राज्य एउटा समृद्ध एवं सुखी समुदाय र परिवारजस्तो हुन्छ ।
मूलतः उत्पादनको साधनहरूको सामूहिक स्वामित्व र सामाजिक परिचालन गरिन्छ । यसमा व्यक्तिगत स्वामित्वको ठाउँमा सामाजिक स्वामित्व स्थापित गरिन्छ । सामाजिक स्वामित्वको लामो अभ्यास पछि मात्र साम्यवाद सम्भव हुन्छ । स्वायत्त सहकारी, प्रत्यक्ष सार्वजनिक स्वामित्व र सामूहिक उपयोगका लागि उत्पादन गरिन्छ । प्राथमिक चरणमा बजार सम्बन्ध अस्तित्वमा रहे पनि क्रमिक रूपमा नाफा र बजारविहीन सामाजिक आर्थिक सम्बन्ध स्थापित गरिन्छ । पछौटे र टुक्रे आर्थिक उत्पादन सम्बन्धलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्दै बृहत्त स्केलमा उत्पादन गरिन्छ । यसमा क्षमताअनुसारको काम र कामअनुसारको दामको नीति हुन्छ । वैज्ञानिक समाजवाद भनेको आर्थिक तथा सामाजिक प्रणालीको ऐतिहासिक शृङ्खला हो, जहाँ उत्पादक शक्तिहरूको समुचित विकास गर्नुका साथै उत्पादनको साधनहरूमा जनताको नियन्त्रण र सामूहिक स्वमित्व हुन्छ ।
अर्कोतिर वैज्ञानिक समाजवादमा उत्पादक शक्तिहरू सचेत र विकसित हुनु अपरिहार्य हुन्छ । पछौटे उत्पादन सम्बन्धले समाजवाद सम्भव हुँदैन । उत्पादनको साधनहरूमा श्रमजीविहरूको पूर्ण नियन्त्रण अनिवार्य हुन्छ । अर्थात् उत्पादन, विनिमय, वितरण र उपभोगमा सामाजिक पद्धति अङ्गीकार गरिन्छ । उत्पादन सम्बन्ध र सम्पत्तिमा जनताको स्वामित्व कायम गरिन्छ । यसमा सार्वजनिक, सामूहिक र सहकारी स्वामित्व रहन्छ । राज्यले मानव मात्रको हर आवश्यकताको दायित्व लिने राजकीय सामाजिक पद्धति नै वैज्ञानिक समाजवाद हो । सामाजिक आर्थिक सत्ताको समुदाय केन्द्रित पद्धति निर्माणको वैज्ञानिक तरिका नै समाजवाद हो ।
(ग) सांस्कृतिक तथा सामाजिक विशेषता ः आज विश्वमा उपभोक्तावादी सांस्कृति हाबी छ । यो माक्र्सवाद विरोधी संस्कृति हो । उपभोक्तावादी संस्कृतिले वैज्ञानिक समाजवादको वकालत गर्दैन । यसको लागि माक्र्सवादी उन्नत, न्यायिक र प्रगतिशील संस्कृति अपरिहार्य हुन्छ । यो समानता, न्याय र मानवतामा आधारित हुन्छ । वास्तवमा भाते, स्वादे र भोगविलासी प्रवृत्ति नै उपभोक्तावाद हो । तर, वैज्ञानिक समाजवादमा भने माक्र्सवादी पद्धति अनुरूपको उन्नत चेतना अनिवार्य हुन्छ । उपभोक्तावादी समाजवादमा सम्पूर्ण सत्तानिहीत स्वार्थको गुरुत्वकेन्द्रमा घुमिरहन्छ । व्यक्तिगत सम्पत्ति आर्जनको होडबाजीका कारण भ्रष्टाचार संस्थागत हुन्छ । मुठ्ठीभर योग्यतमहरू हाबी हुन्छन् ।
तर, यता वैज्ञानिक समाजवादमा सबै नागरिकलाई कामको प्रकृतिअनुरूप समान वितरण र उपभोगको अवसर दिइन्छ । समाजवादी संस्कृतिले जनतामा उन्नत माक्र्सवादी सामूहिक चेत र मनोविज्ञानलाई आधारभूत सर्त स्वीकार गर्छ तर उपभोक्तावादले भने राज्यले दायित्व लिने नाममा जनतालाई बोइलरीकरण गर्छ । सामूहिक पद्धति, चिन्तन र चेतविना राज्यबाट उपलब्ध गराइने सेवासुविधा भनेको जनतालाई बोइलर बनाउने काइदा मात्र हो । यसबाट समाजवाद निर्माणको लामो एवं कठिन ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी प्रक्रियालाई सम्बोधन हुँदैन । ऐतिहासिक आन्दोलनको निरन्तर प्रक्रियामार्फत मान्छेको सोच्ने तरिकालाई रूपान्तरण गर्ने पद्धति नै वैज्ञानिक समाजवाद हो ।
त्यस्तै, सामाजिक रूपमा पनि एकरूपता, सद्भाव र मेलमिलापको राजकीय नीति अपनाइन्छ । वैज्ञानिक समाजवादमा सबै समुदायलाई समान अवसर, न्याय र सम्मानसहितको सामाजिक सद्भावको वकालत गरिन्छ । यसमा विभिन्न वर्ग, जाति, क्षेत्र र लिङ्गका नागरिक एउटै सुन्दर परिवारमा सङ्गठित हुन्छन् । स्वार्थ, सोच, चाहना, मर्म र भावना पनि सामूहिक वा सामाजिक पद्धतिमा आधारित हुन्छ । सामूहिक रूपमै दुःख, कष्ट, खुसी र हाँसो, पीर र चिन्ता साटासाट गरिन्छ । त्यसैले माक्र्सवादी मान्यताअनुरूप साम्यवादमा पुग्ने अस्थायी साधन नै वैज्ञानिक समाजवाद हो ।