संशोधित शिक्षा ऐन ०७४ ले सामुदायिक विद्यालयका शिक्षक, शिक्षिका राजनीतिमा लाग्न नपाउने व्यवस्था गरेको छ। तर सत्तारुढ दल नेकपाको एक सय ५५ सदस्यीय ललितपुर जिल्ला कमिटीमा सात जना शिक्षक छन्। ती सात जना शिक्षक मध्य केही त ज्यादै विवादित रहेको बताइएको छ।
सत्तारुढ नेकपा ललितपुर जिल्ला कमिटि सदस्य रहका वागमती गाउँपालिका–२ स्थित नागदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक ठाकुरमान लामा, कोन्जोस्योम गाउँपालिको गुप्तेश्वरी माध्यमिक विद्यालयका शेरबहादुर तामाङ, महांकाल गाउँपालिका–४ को कालेश्वर प्राविका प्रधानाध्यापक रमेश बजगाई, महालक्ष्मी नगरपालिका–९ को विश्वमित्र माविका चिरञ्जिवी आचार्य, महांकाल उमावि गोटीखेलका प्रावि शिक्षक विमला घिमिरे, सरस्वती मावि ठेंचोका प्रावि शिक्षक कृष्णकाजी महर्जन र तोइनाबिना गणेश आधारभूत विद्यालय नखिपोटका प्रावि शिक्षक भीमप्रसाद गेलाल रहेका छन्।
नेकपा (नेकपा) ललितपुर जिल्ला कमिटिको नामावली
कोन्जोस्योम गाउँपालिको गुप्तेश्वरी माध्यमिक विद्यालयका शेरबहादुर तामाङले पार्टी सदस्यता लिएको जानकारी गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङतानले दिए। तर उनी विवादास्पद छविका व्यक्ति हुन्। ८/१० जना शिक्षकको तलबसहित आर्थिक हिनामिना गरेको विषयमा उनीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मंगलबार भ्रष्टाचारको उजुरी दर्ता भइसकेको छ ।
अरू शिक्षकको तलब किर्ते गरेर खाएको विषयमा कार्यपालिका र शिक्षा समितिले स्पष्टीकरण मागेको थियो। चित्त बुझ्दो जवाफ नदिएपछि तीन महिना निलम्बनमा परेका थिए । निलम्वन फुकुवा भएपछि अर्को ठाउँमा सरुवा भए।
तोइनाबिना गणेश आधारभूत विद्यालय नखिपोटका प्रावि शिक्षक भीमप्रसाद गेलाल दुई दशकदेखि अध्यापनमा छन्। नेकपा निकट उनले आफू एकीकृत नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्यसमेत रहेको जानकारी दिए। ०५४ देखि पेसागत संगठन र दलमा आबद्ध रहेकाले व्यक्तिगत स्वतन्त्रताका आधारमा बिहान बेलुका पार्टीका काम गर्दै आएको बताए।
पार्टीको सदस्यता लिनेमा प्रधानाध्यापकलगायत २२ वर्षदेखि अध्यापनमा संलग्नहरू पनि छन्। वागमती गाउँपालिका–२ मा रहेको नागदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक ठाकुरमान लामालाई वागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले “शिक्षण पेशा वा राजनीति” मध्ये एक रोज्न निर्देशन दिएका छन्। वडा नम्बर २ का अध्यक्ष विजयकुमार लोलाई यसबारे कारवाही अघि बढाउन निर्देशन दिएको उनले जानकारी दिए।
शिक्षा विकास तथा समन्वय इकाइ ललितपुरका प्रमुख योगेन्द्रप्रसाद बरालले यस विषयमा कुनै जानकारी नभएको बताए। उनका अनुसार यसबारे विद्यालय व्यवस्थापन समति आफैंले निर्णय गर्नुपर्ने हुन्छ। सुरुमा स्पष्टीकरण लिने र चित्तबुझ्दो जवाफ नआए कारवाहीको सिफारिस गर्न सक्छ तर प्रमाणसहित। ‘कारवाहीका लागि हामीलाई अधिकार छैन’, उनले भने, ‘मन्त्रालयसँग समन्वय गरिदिन मात्र सक्छौं।’


