भारतीय फिल्म अवार्डका लागि अरबौं खर्च गर्न तयार सरकारको राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा कमजोर ब्यबस्थापन : नेपाली कलाकार अपमानित

भारतीय फिल्म अवार्डका लागि अरबौं खर्च गर्न तयार सरकारको राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा कमजोर ब्यबस्थापन : नेपाली कलाकार अपमानित


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २९ असार २०७६
  • 36.9K
    Shares

अरबौं रुपियाँ खर्च गरेर नेपालमा भारतीय फिल्म अवार्ड कार्यक्रम गर्न तम्सिएको नेपाल सरकारको कम्जोर ब्यबस्थापनको कारण राष्ट्रपति भवनमा सम्पन्न राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा नेपाली कलाकार अपमानित बने ।

राष्ट्रपति कार्यालयमा ०७३, ०७४ र ०७५ साल गरी तीन वर्षको अवार्ड एकैपल्ट बाँडिएको थियो । चलचित्र विकास बोर्डले पुरानादेखि नयाँ कलाकारसम्मको नृत्य प्रस्तुतिसमेत व्यवस्थापन गरेको थियो । सम्मानित हुने र सम्मान गर्नेलाई सोफामा राखिएको थियो ।  तर कार्यक्रममा प्रस्तुति देखाउने करीब ३५ जनालाई ८ बाई १० को कोठामा कोचेर राखिएको थियो । अरु त अरु प्रस्तुतिका लागि राष्ट्रपति भवन पुगेका कलाकार सरोज खनालले बस्ने ठाउँको अभावमा राष्ट्रपति भवनस्थित ट्वाइलेटको कमोडमा बसेर प्रतिक्षा गर्नु पर्यो ।

राष्ट्रपति भण्डारीको कार्यालयमा कलाकारलाई नाच्न लगाएकोमा विरोध समेत भएको छ । राष्ट्रपति भण्डारीलाई देखाउने नृत्यको पालो कुरेर बसेका कलाकार खनाल बस्ने ठाउँ नपाएपछि ट्वाइलेटको सिटमा बसेका छन् । यो तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

राष्ट्रपति भण्डारीप्रति लक्षित गर्दै अभिनेत्री करिश्मा मानन्धरले आक्रोश पोखेकी छिन् । ‘एकादेशको कथा, पहिला पहिला देशमा राजा हुन्थ्यो र राजा पनि प्रज्ञा प्रतिष्ठानको हलमा कलाकारलाई हेर्न आउँथे ! घर गएर नाच्न बिल्कुलै स्वीकार्य छैन’, मानन्धरले भनेकी छिन्, ‘बाहिर आउनुस् तपाईं हाम्रो आमा हो । हामी तपाईंको लागि ज्यान दिन्छौं ।’

कलाकार खनालले पनि फेसबुकमा स्टाटस लेखेर भनेका छन्, ‘म तिम्रो विचारदेखि पूर्ण सहमत छु । नृत्य गुरुका कारण मैले नाई भन्न सकिनँ । तर त्यो ठाउँमा यो नै मेरो पहिलो र अन्तिम प्रस्तुति हो ।’

अभिनेत्री मानन्धरले बल्ल महसुस गर्नुभयो भनेर प्रतिप्रश्न गरेपछि खनालको पछुतो झन् उग्र भएर देखिएको छ ।

‘सम्मानित हुने र सम्मान गर्ने त सोफामा बिराजमान थिए । तर हामी पर्फमर करीब ३५ जनालाई ८ बाई १० को कोठामा कोचेर राखे । म चाहिँ ट्वाइलेटको कमोडमा बसेर आफ्नो पालो पर्खी बसेँ । के गरुँ, आफ्नै क्षेत्रको दुर्दशा पब्लिकलाई देखाएर आफ्नै बेइज्जत हुन्छ र सेयर गरिनँ तर मनको बह कसैलाई कह’ भन्छन्, त्यसैले मैले तिमीसँग सेयर गर्न चाहेँ’, खनालले भनेका छन् ।

सोही कार्यक्रममा नृत्य प्रस्तुत गरेका अभिनेता रमेश उप्रेतीले समेत सरोज र करिष्माको विचारमा सहमति जनाएका छन् ।

अवार्ड कार्यक्रममा कलाकार खनालसँगै गौरी मल्ल, रमेश उप्रेती, दिपिल रायमाझी, दीपाश्री निरौला, जितु नेपाल, रेजिना उप्रेती, केदार घिमिरे, पुष्प खड्का, नीता ढुंगाना, पवित्रा आचार्य, विमला केसी, छुल्ठिम गुरुङ लगायत कलाकारले नृत्य देखाएका थिए ।

बेलाबेला विवादमा पर्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारी फेरि शुक्रवार राष्ट्रपति भवनमा सम्पन्न राष्ट्रिय चलचित्र पुरस्कार वितरण  समारोहमा कमजोर व्यवस्थापन र कलाकारहरूलाई अपमान गरेको भन्दै आलोचित बनेकी छिन ।

प्रतिक्रिया