नेपालमा पश्चिमाहरूको गतिविधि बढ्दै, चीन फुटाउन काठमाडौँमा गोप्य सम्मेलन भएको सत्तारुढ नेकपाका प्रमुख सचेतक गुरुङको खुलासा (हेर्नुस भिडियो)

नेपालमा पश्चिमाहरूको गतिविधि बढ्दै, चीन फुटाउन काठमाडौँमा गोप्य सम्मेलन भएको सत्तारुढ नेकपाका प्रमुख सचेतक गुरुङको खुलासा (हेर्नुस भिडियो)


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३ असार २०७६
  • 9.8K
    Shares

चीनको सिन्चुवान प्रान्तलाई फुटाउन काठमाडौँमा गतिविधि हुँदै आएको खुलासा भएको छ । संसद्को सोमबारको बैठकमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले काठमाडौँको बौद्धमा चीनको सिन्चुवान प्रान्तलाई फुटाउन फ्रि तिब्बत युवा काङ्ग्रेसको सम्मेलन भएको बताए ।
सिन्चुवान प्रान्तमा रहेका मुस्लिमहरूलाई उचालेर नेपालको भूमि प्रयोग गरी चीनलाई फुटाउने गतिविधि भइरहेको गुरुङले बताए ।

‘नेपालको भूमि प्रयोग गरेर छिमेकी देशलाई फुटाउने गतिविधिहरू हुन दिनु हुँदैन । सबै भन्दा ठूलो चुनौती भनेको भारतसँगको खुला सिमाना छ । काठमाडौँको बौद्धमा फ्रि तिब्बत युवा काङ्ग्रेसको सम्मेलन भएको छ । चीनलाई फुटाउन सम्मेलन भएको कुरा आएका छन्’, उनले भने, ‘काठमाडौँका होटेलहरूमा गोप्य रूपमा तालिम र सम्मेलन भइरहेका छन् । विदेशी र पश्चिमा राष्ट्रहरूको गतिविधि बढ्दै आइरहेको छ । यसलाई नियन्त्रण गर्नुपर्छ ।’

सिन्चुवान प्रान्तलाई चीनबाट अलग गराउनकालागि काठमाडौँमा विदेशी र पश्चिमाहरू आएर तालिम चलाइरहेको नेकपाका प्रमुख सचेतक गुरुङले संसद्मा जानकारी गराइरहँदा गृहमन्त्री रामबहादुर थापाले आफूलाई सचेत गराएका थिए ।

अमेरिकासँग अध्यागमन कार्यालयको डाटा राख्न ‘पाइचिस सफ्टवेयर’ राख्ने सहमति नेपाल सरकारले गरेकोमा सांसद गुरुङले विरोध गरे । उनले भने, ‘अध्यागमनमा पाइचिस सफ्टवेयर राख्न अमेरिकासँग भएको सहमति खारेज गर्नुपर्छ । नेपाल आफैँले सफ्टवेयर बनाउनु पर्छ ।’

गुरुङले इन्डो प्यासिफिक सैन्य सङ्गठनको पनि विरोध गरे । उनले नेपाललाई इन्डो प्यासिफिक सैन्य सङ्गठनबाट बाहिर राख्नु पर्ने बताए । ‘तत्कालीन सोभियत सङ्घलाई फुटाउन अमेरिकीहरूले ‘नेटो’ सैन्य गठबन्धन बनाएका थिए । नेटोले नै पछि गएर सोभियत सङ्घलाई फुटायो’, उनले भने, ‘एसिया प्यासिफिक सैन्य गठबन्धनमा नेपाल छैन भनिएको छ । इन्डो प्यासिफिक सैन्य गठबन्धन नेपालको भूमि प्रयोग गरेर चीनलाई फुटाउन बनाइएको सङ्गठन हो ।’

अमेरिकीहरू दुई–तीन महिनामा नेपाल आएर नेताहरूको घरघरमा गएर भेट्ने गरेको भन्दै सरकारी नेकपाका नेता गुरुङले अमेरिकीहरूको उक्त कार्य तत्काल रोक्न माग गरे ।

‘हाम्रो देशको भूमि प्रयोग गरेर छिमेकीलाई फुटाउन दिनु हुँदैन । अमेरिकीहरूलाई घरघरमा गएर नेताहरूलाई भेट्ने अनुमति कसले दियो ? उत्तर कोरियाली दूतावास नेपालबाट निकाल्नु प¥यो भनेर दबाब दिइरहेका छन्’, उनले भने, ‘नेताहरूको घरघरमा जाने अधिकार अमेरिकीले कसरी र कुन हैसियतले पाएको छ ?’

‘नेपालले अरूलाई तीन महिना भिसा दिएको छ तर अमेरिकीहरूलाई छ महिनाको भिसा दिइन्छ’, उनले भने, ‘भोलेन्टियरमा पनि अरूलाई एक वर्षको भिसा दिइन्छ तर अमेरिकीलाई दुई वर्षको भिसा दिने गरिएको छ । नेपालमा पश्चिमाहरूको गतिविधि बढ्दै गइएको छ । यो नेपालकालागि ठूलो दुर्भाग्य हुनेछ ।’

प्रतिक्रिया