नेविसंघको प्रदर्शनमा झडप, पत्रकार सहित दर्जनौ कार्यकर्ता घाइते

नेविसंघको प्रदर्शनमा झडप, पत्रकार सहित दर्जनौ कार्यकर्ता घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १२ फाल्गुन २०७५
  • 6K
    Shares

ललितपुर– नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेविसंघमा ३२ वर्षे हदबन्दीको पक्ष र विपक्षमा विद्यार्थी नेताहरु प्रदर्शनमा उत्रिएपछि झडप भएको छ ।

संस्थापन पक्षका ऋषिजंग शाही र कृष्ण प्रसाद सिटौला पक्षका सुशील भट्ट नेतृत्वको नेविसंघका नेता कार्यकर्ताबीच झडप हुँदा दुबै पक्षका गरी एक दर्जन कार्यकर्ता घाइते भएको जनाइएको छ ।

दुई पक्षबीचको झडपमा पत्रकार केशव साउदसहितका ३ जना पत्रकार समेत सामान्य घाइते भएको बताइएको छ । दुई पक्षीय झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले पत्रकार समेतलाई लाठीचार्ज गरेको हो । पत्रकारको परिचयपत्र देखाउँदा समेत प्रहरीले लाठीचार्ज गरेको बताइएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार पार्टी कार्यालय सानेपामा तय भएको थियो । बैठकमा सहभागि हुन आउने नेताहरुलाई नेविसंघ सुनिश्चितता र ३२ वर्षे उमेर हद लागू गर्दै तदर्थसमिति बनाइनुपर्ने दवाव दिँदै आएको सिटौला समूहका विद्यार्थी नेताहरु धर्नाका लागि सानेपा पुगेका थिए ।

यस्तै सो समूहलाई काउन्टर दिनेगरी संस्थापन निकटका शाही नेतृत्वको समूह पनि आइतबार पार्टी कार्यालय पुग्यो । भट्ट र शाही नेतृत्वको दुई गुटका नेता कार्यकर्ताहरु पार्टी कार्यालयमा पक्षविपक्षमा प्रदर्शन भइरहेको बेला एकाएक इट्टा हानाहान हुन पुगेको एक विद्यार्थी नेताले जानकारी दिए ।

ती नेताका अनुसार सिटौला पार्टी कार्यालय प्रवेश गर्दा शाही समूहले उनीविरुद्ध चर्को नाराबाजी गरेको थियो भने सभापति शेरबहादुर देउवार, विमेलेन्द्र निधि आउँदा भट्ट नेतृत्वको समूहले नाराबाजी गरेको थियो । भट्ट समूहले देउवाविरुद्ध नाराबाजी गर्दै गर्दा भीडबाट ढुंगा समेत प्रहार भएपछि दुई पक्षबीच एकाएक ढुंगा हानाहान हुन पुगेको थियो ।

त्यसपछि प्रहरीले झडपलाई नियन्त्रणमा लिने क्रममा लाठीचार्ज गर्दा एक दर्जनको हाराहारीमा नेविसंघका कार्यकर्ता घाइते भएको बताइएको छ । घाइते हुनेमा दीपेन्द्र क्षेत्री, अर्वत खड्का लगायत रहेका छन् ।

नेविसंघका नेता निरञ्जन थापाले आफूहरु शान्तिपूर्ण धर्नामा रहेकै बेला अर्को समूहले बखेडा झिकेपछि घटना हुन पुगेको बताए ।

प्रतिक्रिया