आफ्नै घर नजिकै मृत अवस्थामा फेला परेका एक युवकको मृत्यु रहस्य अझै खुल्न सकेको छैन भने आफन्तले पाँच दिन देखी शव बुझेका छैनन् । प्रहरी अनुसन्धानप्रति असन्तुष्टी जनाउदै आफन्तले शव नबुझेपछि मृतकको सतगति समेत भएको छैन । मृतकका आफन्तले प्रहरीलाई अनुसन्धानमा दवाव दिन भनी शव नबुझेको बताएका छन् ।
पर्वत कुस्मा नगरपालिका ११ खरेया स्थायी घर भएका २२ वर्षे सौरभ श्रेष्ठ यही फागुन १४ गतेको विहान मृत अवस्थामा फेला परेका थिए । मृत भेटिनुको एक दिन पहिला घरबाट साथीसँग मोटरसाईकल चढेर हिडेका श्रेष्ठ भोलिपल्ट विहान मृत फेला परेपछि सनसनी फैलिएको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले केहि युवाहरु पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका युवाहरुको भनाई अनुसार कास्कीको नया पुलबाट राती ट्याक्सीमा चढेर मृतकसहित चार युवा पर्वततिर आएका थिए । पर्वत आउने क्रममा तीन युवा चुवा भन्ने स्थानमा ट्याक्सीबाट उत्रिए भने ड्राईभरले मृतकलाई मात्र उनैको घर नजिक सडकमा छाडेको खुलेको प्रहरीको सोधपुछको क्रममा थाहा भएको छ ।

ड्राईभरका अनुसार मृतक श्रेष्ठ बेहोसी जस्तै थिए । कास्की नयाँ पुल कहानेर युवाहरु बसे ? ट्याक्सीमा सँगै आएर चुवामा झर्ने तीन जना युवाहरु कस्तो प्रवृत्तिका हुन् र उनीहरुको भनाई के छ ? भन्ने प्रश्नमा प्रहरीले खास जवाफ दिन सकेन ।
उनीहरुबारे थप अनुसन्धान जारी रहेको हुँदा अरु बढी केही बताउन नमिल्ने प्रहरीको जिकिर छ । अर्कोतिर स्थानीय प्रत्यक्षदर्शीका अनुसार मृतकको शव टुपुक्क ल्याएर राखे जस्तेै थियो । मृतकको शरीरमा कुनै धुलो लागेको थिएन । मृत्यु अगाडि छटपटिदा धुलो जमिनमा केही न केही कोरिएको हुनुपर्ने थियो । यसले पनि ड्राईभरले भनेको कुरामा स्थानीय सर्वसाधारण र मृतकका घरपरिवारले आशंका गरेका छन् ।
मृतक श्रेष्ठ घरभन्दा केही तल पोखरा बागलुङ सडककै छेउमा भेटिएका थिए । मृतकको पोष्टमार्टम जिल्ला अस्पताल पर्वतमा भएको प्रहरीले बताएको छ । पोष्टमार्टमको रिपोर्ट सोमवारसम्म पनि आईनपुगेको प्रहरी निरीक्षक दिपक पातलीको भनाई छ । मृत्युको खास कारण खुल्न नसकेपछि थप परिक्षणका लागि मृतकको आवश्यक आन्तरिक अंगहरु प्रहरी विधि तथा विज्ञान प्रयोगशाला काठमाडौ पठाईएको प्रहरी सहायक निरीक्षक पूर्ण जिसीले बताए ।
मृतकको शरीरमा कुनै प्रकारको घाउ, निलडाम, चोट नभएको प्रहरीको दावी छ । मृतकले पहिरेको कपडामा केही औषधीका ट्याव्लेट र एक सानो बोतलमा तरल पदार्थ पाईएको बताउने प्रहरीले उक्त पदार्थ लागू औषधी नै हो भनी ठोकुवा गर्न नसकिने बतायो । लागुऔषधी भए नभएको बारे प्रयोगशालामा परीक्षण भएपछि मात्र भन्न सकिने प्रहरीको तर्क छ ।
जिल्ला अस्पतालले रिपोर्ट दिन ढिला गरेको छ भने उता मृतकको शरीरमा कुनै चोट नभएपछि मृत्युको कारण रहस्यमय बनेको हो । मृत्युको रहस्य खुल्न अझै केही समय लाग्ने प्रहरीको भनाई छ । यता मृतकका बाबु रामकृष्ण श्रेष्ठले आफूले अनुसन्धान राम्रोसँग गरिनुपर्ने बताएका छन् । आफ्नो कान्छो छोराको मृत्युको खवरले खाडी मुलुक दुवई देखि हानिदै आएका श्रेष्ठले मृतक छोराको शव समेत बुझेका छैनन् । मृतकको शव जिल्ला अस्पतालमै रहेको छ ।
मृतकका बाबु श्रेष्ठले भने– ‘छोरो मैले गुमाए तर न्यायिक छानविन हुनुपर्छ । ट्याक्सीमा ल्याएर छाड्ने ड्राईभर र अरु तीन जना युवाहरुलाई पक्राउ गरी राम्रो अनुसन्धान हुनुपर्छ । म थिईन । घटनास्थलमा मृतकको शरीरलाई प्रत्यक्ष देखेका आफन्तले भने अनुसार मृत्यु शंकास्पद छ ।’ उनले प्रहरीको अनुसन्धान र कारवाही फितलो भएको भनी गुनासो र दुःखेसो पोखेका छन् । प्रहरीले घटनाको सत्य तथ्य बाहिर नल्याएसम्म मृतकको शव नबुझने उनले बताए ।