पश्चिम युगान्डामा प्रहरीले रवेनजूरुरुका राजा चाल्र्स वेस्ले मुम्बेरेलाई हिंसा फैलाएको आरोपमा पक्राउ गरेको छ । सुरक्षाबलले राजा मुम्बेरको दरबारमा छापा मारेर उनलाई पक्राउ गरेको हो ।
राजा चाल्र्स वेस्ले मुम्बेरेमाथि हिंसा फैलाएको आरोप लगाइएको छ । उनीमाथि लडाकुलाई संरक्षण दिएको आरोप लगाइएको छ । तर, मुम्बेरले रबै आरोपलाई निराधार भनेका छन् । राजा चाल्र्स बेस्ले मुम्बेरेले मिलिशियाका साथ सम्बन्ध नरहेको दाबी गरेका छन् ।
उनको गृहनगर कासेसमा मिलिशिया लडाकुले प्रहरी चौकीमा हमला गरेका थिए । प्रहरी र राजाका समर्थकबीच भएको लडाइमा कम्तिमा ५५ मानिस मारिएका छन् । हिंसामा कम्तिमा १४ प्रहरी तथा ४१ लडाकु मारिएका छन् । युगान्डाको सरकारका एक प्रवक्ताका अनुसार मिलिशिया युगान्डाबाट अलगिन चाहन्छन् ।
प्रहरी प्रवक्ता एन्ड्रु फेलिक्सले हमलाबर डेमोक्रेटिक रिपब्लिक अफ कंगोको सीमामा नयाँ राष्ट्र बनाउनका निम्ति युद्ध लडिरहेको बताए । उनले आइतबार राजाको दरबारमा घेराबन्दी गरेर अन्य व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको जनाए ।