बलिउडका अभिनेता एवं हास्य कलाकार कादर खानको निधन भएको विवादास्पद समाचारहरु सार्वजनिक भएका छन् । कादर खानलाई प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) डिसअर्डर नामक रोग लागेको थियो । केहि समय अघि देखि बिरामी भएर अस्पतालमा भर्ना भएका कादर खानको क्यानडामा निधन भएको विवादास्पद समाचारहरु सार्वजनिक भएको हो ।
भारतीय सञ्चार माध्यामहरुमा आएका खबरअनुसार भारत सरकारको स्वामित्वमा रहेको अल इन्डिया रेडियोले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा कादर खानको मृत्युको खबर पोस्ट गरेको थियो ।
ट्वीटरमा सुप्रसिद्ध अभिनेता तथा संवाद लेखक हाम्राबीच रहेनन् इश्वरले उनको आत्मालाई शान्ती दिउन् भनेर लेखिएको थियो । हाल उक्त ट्वीट डिलिट गरिएको छ ।

८१ वर्षीय खान २२ अक्टुबर १९३७ मा काबुलमा जन्मिएका थिए । कादर खानले ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। कादर खानले सन् १९७३ मा फिल्म ‘दाग’ मार्फत बलिउड डेब्यू गरेका थिए ।
‘बाप नम्बरी बेटा दश नम्बरी, अंगार, हिम्मतवाला, सिक्का, आँखे, मे खिलाडी तु अनाडी, कुली नं १, साजन चले ससुराल, दुल्हे राजा लगातका चर्चित फिल्ममा काम गरिसकेका खानले हिन्दी र उर्दु गरी २५० फिल्मको डायलग पनि लेखेका छन् ।
यसैबीच वरिष्ठ कलाकार कादर खानका छोरा सरफराज खानले आफ्नो पिताको निधन भएको समाचार गलत भएको दाबी गरेका छन् । कादर खानका छोरा सरफराज खानका अनुसार, पिता अभिनेता कादर खानलाईे सास फेर्न समस्या भएपछी उनलाई रेगुलर भेंटिलेटरबाट बिशेष खालको भेंटिलेटरमा राखिएको छ ।