उपसचिव प्रेम सञ्जेलले कार्यअवधि नपुग्दै आफुलाई प्रदेश १ को विराटनगरस्थित श्रम कार्यालयबाट दुई महिनामै इटहरी सरुवा गरिएपछि सरकारी कार्यालयमा हुने भ्रष्टाचार र ढिलासुस्तीविरद्ध आवाज उठाउदै उनले सचिव महेश दाहाल, श्रममन्त्री गोकर्ण विष्ट र प्रधानमन्त्री केपी शर्मा ओलीलई कडा चुनौती दिएका छन् ।
सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरेर उपसचिव सञ्जेलले आफूमाथि भ्रष्टाचारको आरोप लगाउनेहरुले आरोप प्रमाणित गरेमा ज्यानै त्याग्न तयार रहेको पनि उल्लेख गरे । आक्रोशित मुद्रामा प्रस्तुत भएका सञ्जेलले भने, ‘यदि मैले घुस लिएको प्रमाणित गरेर देखाएमा म ज्यान पनि दिन तयार छु । यो कुराको पुष्टि गरेर प्रधानमन्त्री केपी ओली, श्रममन्त्री गोकर्ण विष्ट र सचिव महेश दाहालले देखाउन सक्नुपर्छ ।’
यहा कर्मचारी नै सबैभन्दा भ्रस्ट भएको, नेताहरुको बदमाशी बारे जानकारी रहेको कुरा पनि उनले आफ्नो भनाइमा जोड्दै ४० बर्षको अबधिमा घुस लिएको एकजना मान्छे देखाउन चुनौती दिए ।
उपसचिव सञ्जेलले आफ्नो सरुवामा उद्योगीदेखि घुस खान नपाएका कर्मचारीसम्म लागेको दाबी गरे । उनले न्यूनतम् पारिश्रमिक लागू गराउन आफूले जोडबल गर्दा उद्योगीसमेतको दबाबमा सचिव महेश दाहालले दुई महिनामै आफ्नो सरुवा गरेको उल्लेख गरे, ‘भ्रष्टाचारविरुद्ध बोल्दा उल्टै भ्रष्टाचारी भनेर सरुवा गरिन्छ भने चुनौती दिन चहान्छु, मैले घुस खाएको प्रमाणित गर्नुभयो भने आउनुस् रंगशालामा यदि पुष्टि गर्न सक्नु भयो भने म ज्यानै दिन पनि तयार छु, अदालतमा जाने त के कुरा ।’
सरकारले वैदेशिक रोजगारीको श्रम स्वीकृतिका लागि विराटनगरमा पनि कार्यालय खोल्ने निर्णय गरिसककेको छ । वैदेशिक रोजगारीको श्रम स्वीकृतिमा घुस खान नपाइने डरले आफूलाई भ्रष्ट कर्मचारीको दबाबमा इटहरी सरुवा गरिएको सञ्जेलको भनाइ छ ।विराटनगरकै श्रम कार्यालयबाट वैदेशिक श्रम स्वीकृति हुने भएपछि जिल्लाबाटश्रम स्वीकृति दिने क्रममा केन्द्रमा भन्दा झनै भष्टाचार हुने बताएका छन् । त्यसैले उनले केन्द्रबाट अस्वीकृत भएका व्यक्तिको विवरण मागेर पत्र लेखेका थिए । उनले पठाएको पत्र नआइपुग्दै उनलाई सचिव दाहालले सरुवापत्र थमाइदिएपछि आक्रोशित भएका हुन् ।
निजामती कर्मचारी ऐन ०४९ र नियमावली ०५० ले कर्मचारीलाई उचित कारण नदिइ र दुई वर्ष नपुगी सरुवा गर्न नपाइने व्यवस्था गरेको छ तर दुई महिनामै आफूलाई सरुवा गरिएको जबाफ अब श्रम मन्त्री विष्ट र सचिव दाहालले दिनै पर्ने जिकिर सञ्जेलले गरेका छन् ।
कर्मचारीवृत्तमा भ्रष्टाचार विरोधी र इमान्दार छवि बनाएका सञ्जेल यही असोज २५ गते निर्वाचन कार्यालय मोरङबाट श्रम तथा रोजगार कार्यालय बिराटनगरमा सरुवा गरिएका थिए । त्यहाँबाट उनलाई अढाई महिनामै सीप विकास कार्यालय इटहरीमा सरुवा गरिएको हो । सञ्जेलले आफूलाई सचिव दाहालले उद्योगी र भ्रष्ट कर्मचारीसँग मिलेर अढाई महिनामै सरुवाको पत्र थमाउँदा कारणसमेत नखुलाएको बताएका छन् ।
उपसचिव सञ्जेलले आफ्नो घरमा एउटा साइकलसमेत नभएको अवस्थामा सहयोगीको भने कारसमेत रहेको बताउँदै त्यो सचिव दाहाल, मन्त्री गोकर्ण विस्ट र प्रधानमन्त्री कसले किनिदिएको जबाफ दिनुपर्ने चुनौती पनि दिए । उनले यदि कसैले किनिदिएको होइन भने त्यो कारको स्रोतको ‘थाहा’ हुनुपर्ने पनि दावी गरे ।