बिद्युत प्राधिकरणको गैर जिम्मेवारीपन : ८० रुपयाँ महसुल बुझाउन तिर्न २ हजार खर्च

बिद्युत प्राधिकरणको गैर जिम्मेवारीपन : ८० रुपयाँ महसुल बुझाउन तिर्न २ हजार खर्च


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ८ पुष २०७५
  • 5.5K
    Shares

बैतडीको डिलाशैनी-६ गोकुलेश्वरका कृष्ण नाथको घरमा बिजुलीको बिल उठ्छ ८० रुपैयाँ । तर महसुल तिर्न जाँदा उनको दुई हजार रुपैयाँ चट् हुन्छ । ‘प्रत्येक महिना ८० रुपैयाँ तिर्न सदरमुकाम पुग्नुपर्छ,’ उनले भने, ‘गाडी भाडामै एक हजारभन्दा बढी खर्च हुन्छ । खाना खाँदा र अरुखर्च गरेर दुई हजार नाघ्छ।’

गाउँमा विद्युत विस्तार भएदेखि महसुल बुझाउन सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । जिल्लाका डिलाशैनी, दोगडाकेदार, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका नागरिकलाई बिजुलीको बिल तिर्न समस्या पर्दै आएको छ । महसुल काउन्टर नजिकै छैन । ‘विद्युत महसुल नबुझाउँ भने पनि भएन । बुझाउन जाँदा पनि यो बिघ्नको खर्च छ,’ गोकुलेश्वरकै लोक नाथले गुनासो गरे, ‘यसबारे विद्युत प्राधिकरणलाई जानकारी गराए पनि कुनै पहल हुन सकेको छैन् ।’

कच्ची बाटोमा जीपको महंगो भाडा तिर्नुपर्दा खर्च बढेको सुर्नया-५ का दीपेन्द्रबहादुर विष्टले बताए ।महसुल बुझाउने व्यवस्था पाटन र सदरमुकाममा मात्र छ । ‘हामीले महसुल तिर्न पाटन पुग्नुपर्छ । भनेको समयमा गाडी पाइँदैन,’ पाटन-१० का दीपक महराले भने, ‘नगरपालिका भनेर मात्र के गर्नु ? यत्रो झन्झट बेहोर्नुपरेपछि !’

बैतडीमा महसुल काउन्टर नहुँदा बिजुलीको बिल तिर्न सदरमुकाम नै पुग्नुपर्ने बाध्यता छ भने चार स्थानीय तह विद्युत सेवाविहीन छन्।

प्राधिकरणलाई नजिकै काउन्टर खोल्न आग्रह गरिएको डिलाशैनी-६ का भण्डारीले बताए । ‘तर सुनुवाइ भएन,’ उनी भन्छन् ।प्राधिकरणले भने उपभोक्ताबाट समस्या आएपनि जिल्लालाई काउन्टर सञ्चालन गर्ने अधिकार नभएको जनाएको छ ।

सुरक्षाको अभाव, कर्मचारी अभाव, भौगोलिक विकटताजस्ता कारणले तत्काल अन्य ठाउँमा महसुल संकलन काउन्टर सञ्चालन गर्न नसकिने जोशीको भनाइ छ । ‘टाढाका उपभोक्ताको सजिलोका लागि हामीले एकै पटक तीन महिनाको रिडिङ गरेर महसुल लिने गरेका छौं,’ उनले भने ।

प्रतिक्रिया