इटालियन ठेकदार कम्पनी सीएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजना छाडेको घोषणा गरेको छ । तर, सरकारले भने उसको पत्र बुझ्न अस्वीकार गरेको छ ।
ठेकेदार कम्पनीका प्रतिनिधि आयोजनाको बाँकी काम गर्न नसक्ने व्यहोराको पत्र बोकेर आइतबार मेलम्ची खानेपानी आयोजनामा पुगेका थिए । तर, आयोजनाका अधिकारीहरुले पत्र बुझ्न अस्वीकार गरेका छन् । खानेपानी मन्त्रालयले पत्र नबुझ्न आयोजनालाई निर्देशन दिएको थियो ।
सीएमसीले ‘फन्ड सर्टेज’ भएको भन्दै काम अघि बढाउन नसक्ने पत्रमा उल्लेख गरेको स्रोतको दाबी छ ।
यसअघि उसले यही डिसेम्बर १४ सम्म आफूले दावी गरेको रकम दिन समयसीमा दिएको थियो । तर, सरकारले बाँकी काम सिध्याएपछि मात्रै थप रकम भुक्तानी दिने जवाफ दिएको छ ।
सरकारबाट पैसा नपाएपछि सीएमसीका अधिकारीहरु सुटुक्क भाग्न खोजेका थिए । तर, पूर्वसूचना पाएपछि नेपाल प्रहरीको सहयोगमा ८ जनालाई ठमेलबाट नियन्त्रणमा लिइएको छ ।‘सोमबार नै अधिकांशले देश छाड्ने र भोलिपल्ट सरकारलाई पत्र दिने योजना बनेको रहेछ,’ एक अधिकारीले भने ।