कैलालीमा राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट गरिएको घटना सेलाउन नपाउँदै बैतडीको डिलासैनी गाउँपालिकामा बोक्सीको आरोपमा एक बालिकामाथि मरणासन्न हुने गरी निर्घात कुटपिट भएको छ ।
बोक्सीको आरोपमा उनीमाथि कुटपिट गरिरहँदा भेला भएका स्थानीयमध्ये कसैले पनि रोकेनन् । डिलासैनी गाँउपालिका–६ बरमबजारको बीच सडकमा लगातार उनीमाथि कुटपिट भयो । भेला भएका स्थानीय मात्र रमिते बनिरहे । बालिका कुटाइ खाएर बेहोस भएपछि मात्र उनलाई छोडिएको थियो ।
सडक धेरै मानिस जम्मा भएका थिए । कुर्चीमाथि राखेर बालिकामाथि निर्धात कुटपिट भयो । झाँक्री भनिने सेतो वस्त्र लगाएकी अर्की एक महिलाले मुक्का , लात्ता र लछारपछार गर्दै उनलाई बोक्सीको आरोपमा निरन्तर कुटपिट गरिरहिन्।
चोट सहन नसकेर ती बालिका चिच्याइरहिन्, रोइरहिन् । ती बालिकाले सहयोगको याचना गरिरहिन् । तर, उनीमाथि कुटपिट भइरहँदा पनि रमिते बनेका स्थानीय भने चुपचाप थिए ।
सबैले नाटक हेरेजस्तै हेरिरहे, कसैले रोक्ने प्रयास गरेनन् । ती महिलाले निरन्तर कुटि रहँदा उनी बेहोस हुन्छिन् र सडकमै पछारिन्छिन् । उनी बेहोस भएर ढलेपछि उनकै उमेरका दुई जनाले बालिकालाई समाएर नजिकैको घरमा लगे, बल्ल उनीमाथिको बराबर याताना रोकियो l
जिल्लाका विकट गाउँहरुमा यस्ता घटना दोहोरिरहने र यस्ता दृश्य सामान्य भएको गाउँलेले बताए । उनीहरुका अनुसार यस्ता घटना गाउँमा देखिने सामान्य घटना हुन् ।
जिल्लामा बोक्सीका आरोपमा निर्मम कुटपिट हुँदासमेत जिल्ला प्रशासन कार्यालयलाई यसबारे कुनै जानकारी छैन । बैतडीका प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेले यसबारे प्रशासनलाई कुनै जानकारी नभएको बताए । ‘डिलासैनीको घटनाबारे हामीलाई कुनै जानकारी छैन ।’ प्रमुख जिल्ला अधिकारी गैरेले भने, ‘कुनै पनि घटनामा हामीले तुरुन्तै एक्सन लिने गरेका छौं । तर यो घटनाबारे हामीलाई जानकारी छैन ।’