श्रीलंकाका राष्ट्रपति लुम्बिनी आउनुपुर्व दुईजना हतियारसहित पक्राउ

श्रीलंकाका राष्ट्रपति लुम्बिनी आउनुपुर्व दुईजना हतियारसहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १६ भाद्र २०७५
  • 29.1K
    Shares

बिम्स्टेक शिखर सम्मेलनका लागि नेपाल आएका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना लुम्बिनी भ्रमण आउनु पूर्व रुपन्देही प्रहरीले लुम्बिनी सास्कृतिक नगरपालिका ६ लोखडिया चोकबाट शुक्रबार राति  हतियार सहित दुई जनालाई पक्राउ गरेको छ।

कपिलवस्तुबाट लुम्बिनी आउने क्रममा पक्राउ पर्नेहरूमा कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका ५ का २० वर्षीय राजेन्द्र लोध र रुपन्देही जिल्ला गैडहवा गाउँपालिका १ का २० वर्षीय सुनल कुमार यादव रहेका छन्। उनीहरूको साथबाट एक थान नलकटुवा पेस्तोल र एक थान चक्कु बरामद भएको प्रहरीका एक उच्च अधिकारीले बताए। उनीहरूले प्रयोग लु ३९ प २९१९ नम्बर मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

दुई वटा मोटरसाइकलमा चार जनाको समूहमा कपिलवस्तुदेखि लुम्बिनी पुगेका मध्ये दुई जना पक्राउ परेका छन् भने दुई जना फरार रहेका छन्।

श्रीलंकाका राष्टपति लुम्बिनी आउनु अघि उनीहरू किन र के कारण हतियार बोकेर लुम्बिनी आए भन्ने विषय प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीका अनुसार फरार अन्य दुई जना खोजी जारी छ।

श्रीलंकामा सशस्त्र विद्रोही समूह लिबरेसन अफ तमिल टाइगर इलम (लिट्टे) को अस्तित्व श्रीलंकामा नरहेपनि तमिल समुदायको संजाल संसारभार रहेकोले श्रीलंकाका राष्ट्रपतिलाई तामिल समूहबाट सुरक्षा खतरा रहेको सुरक्षा निकायले विश्लेषण गरेको छ।

सोही अनुसार लुम्बिनीको सुरक्षा व्यवस्था कडा पारिएको छ। राष्ट्रपतिको लुम्बिनी भ्रमणको क्रममा उनको सुरक्षाको लागि देशको चारवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल सेना र राष्ट्रिय अनुसन्धान विभागलाई परिचालन गरिएको छ।

श्रीलंकाका राष्ट्रपतिलाई भीभीआइपी सुरक्षा उपलब्ध गराइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकरी उदय बहादुर रानाले बताए।

‘उहाँ कहाँ कहाँ जानुहुन्छ, त्यो सबै स्थानको हामीले म्याप बनाएर सुरक्षा योजना अनुसार सुरक्षा व्यवस्था मिलाएका छौँ र त्यही अनुसार कार्यान्वयन भइरहेको छ’, उनले भने’, ‘उहाँको सुरक्षामा कुनै कमी छैन।’

प्रतिक्रिया