पोखरा – वर्षायाममा पोखरा लेखनाथ महानगरपालिका आसपास सेती नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्ने कार्य बढ्दै गएको छ ।
बिगत लामो समयदेखि टेण्डर प्रकृया अन्तर्गत उत्खनन् कार्य भएपनी अहिले महानगरपालिका द्वारा स्थानिय वडालाई सिमित समयका लागि घाट चलाउन अनुमती दिईएको छ ।
यसरी स्थानिय निकायलाई जिम्मा लगाएको १० दिन पनि नपुग्दै पोखरा लेखनाथ महानगरपालिका ३२ को रातो पहिरो घाटमा नियम बिपरित वडाकै सिफारिस बमोजिम हेभी इक्युपमेन्ट (स्काभेटर) प्रयोग गरेर सेतीनदीको अवैध दोहन हुन थालेको छ । स्काभेटर प्रयोग गरेर नदीको स्वरुप नै परिवर्तन गरि नदि कटान गर्दै बालुवा निकाल्ने कार्य भएको देखेपछी वडा नम्बर ३३ पुडिटारका स्थानियले काम रोक्न आग्रह गरेको तर अटेर गरि निरन्तर काम भएपछी त्यसको बिरोध गर्दा काम रोकिएको स्थानिय शिभ अधिकारीले बताए । यस्तै नदिमा ढुङ्गाद्वारा छेकथुन गरेर वडा नम्बर ३३ को बन क्षेत्रतिर नदि सोझाईएको स्थानियले आरोप लगाएका छन् ।
स्थानिय तह द्वारा संचालित उक्त रातो पहिरो घाटमा कानुन बिपरित नदिमै यसरी दोहन हुँदा प्रहरी समेतको निगरानी रहेको थियो । उक्त कार्यको लागि पोखरा लेखनाथ महानगरपालिका ३२ देखि पावरहाउस प्रहरी चौकीलाई उक्त कार्यका लागि अनुमति दिईएको भन्दै पत्राचार गरेको थियो । यसरी प्रशाशन समेतको मिलेमतोमा नदिमा हेभी इक्युमेन्ट प्रयोग हुन थालेपछी स्थानीयहरु सरकारको आस नै मरेको बताए ।
केही जनप्रतिनिधि, कर्मचारी, प्रहरीको मिलेमतोमा नदीजन्य वस्तुको अवैध दोहन तथा चोरी निकासी भइरहेको स्थानीयवासीले गुनासो गरेका छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नं ३२ का अध्यक्ष अक्कल बहादुर कार्कीले स्काभेटर प्रयोग गरेर नदीबाट बालुवा निकाल्न नभई खोरि तथा जिर्ण बाटो साथै पार्किङ्ग निर्माण विषयमा वडाले काम गरेको हुदाँ कुनै गलत नभएको र स्थानिय निकायकै फाइदाको लागि भएको प्रतिक्रिया दिए । तर घाटमा खोरी निर्माणको लागि भनेर नदिबाट बालुवा निकालिएको थियो ।