हरिनगरामा सशस्त्र प्रहरी र गाँउलेबीच झडप, प्रहरी चौकीमा आगजनी

हरिनगरामा सशस्त्र प्रहरी र गाँउलेबीच झडप, प्रहरी चौकीमा आगजनी


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १० साउन २०७५
  • 10.8K
    Shares

प्रदिप मेन्याङ्बो/ सुनसरी — सशस्त्र प्रहरीको ज्यादती बढेको भन्दै सुनसरीको हरिनगरा गाँउपालिकाका बासिन्दाले घुस्की प्रहरी चौकीमा बुधबार साँझ आगो लगाइदिएका छन् । चौकीमा आगो लगाउनु अघि गाँउले र सशस्त्र प्रहरी बल बीच झडप भएको थियो ।

 

नेपाल–भारत सीमाक्षेत्रमा पर्ने हरिनगराको घुस्कीस्थित पटुवा खेतमा काम गरिरहेकी हरिनगरा–७ बस्ने गियास जटकी ३० वर्षीया गर्भवती छोरी मेहनाज खातुनलाई सशस्त्र प्रहरी बल घुस्कीका इन्चार्ज सशस्त्र प्रहरी नायब निरीक्षक दिलबहादुर तामाङको नेतृत्वमा खटिएको टोलीले मरणासन्न हुने गरि कुटपिट गरेपछि विवाद उत्पन्न भएको थियो ।
सशस्त्रले खातुनले भारतबाट खसी लिएर आउँदै गरेको अवस्थामा ३ जना सशस्त्रका जवानले रोकेर नियन्त्रणमा लिन खोजेको जनाएको छ । खातुनलाई रोक्दा गर्भवती महिलामाथि शसस्त्रले हातपात गरेको भन्दै स्थानीय बासिन्दा सशस्त्र प्रहरीमाथि खनिएका थिए ।
हरिनगरा गाउँपालिका प्रमुख गफ्फार अन्सारीले खुलासिमानाका कारण बाख्रा चराएर आउँदा सशस्त्र प्रहरीले भारतबाट नेपालमा बिक्रिकालागि अवैधरुपमा ल्याउन खोजेको आरोपमा विवाद हँुदा भडप भएको बताए ।
झडपमा सशस्त्र प्रहरीले गर्भवती खातुनको टाउको, पेट र छातीमा गम्भिर चोट पुर्‍याएकाले उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको गाउँपालिकाका अध्यक्ष अन्सारीले बताए । सशस्त्र प्रहरी र स्थानीय बीच बुधबार झडप हुँदा ६ जनाभन्दा बढी स्थानीय र प्रहरी घाइते छन् ।
भारतीय सीमा क्षेत्रबाट खसी बोका ल्याउने क्रममा सशस्त्र प्रहरीको टोलीले पटुवा घारीमा लुकाई राखेको अवस्थामा खसीलाई नियन्त्रणमा लिन खोज्दा बिवाद उत्पन्न भएको सशस्त्र प्रहरी बल पक्षको दाबी छ । सशस्त्र प्रहरीका हवल्दार सुबास यादवसहितको टोलीले राजश्व तिरेको बिल मागे पछि घटना झडपतर्फ मोडिएको बताइएपनि गाउँपालिका प्रमुख अन्सारीले त्यँहा कसैले पनि भारतीय बजारबाट खसिबोका भित्र्याएको नपाइएको बताए । ‘खुला सीमा भएकाले भारतीय बासिन्दाका खसीबोका नेपालतिर र नेपालका भारततिर चर्न पुग्छन् । बिक्रिकालागि ल्याउने लैजाने त्यँहा भएको देखिएन । सशस्त्रले ज्यादतीमात्र गरेको देखियो,’ उनले भने ।
करिब डेढ किलोमिटर दूरीमा पुग्दा स्थानीयले सशस्त्र प्रहरीको हतियार र लौरो खोस्न थालेपछि १७ राउण्ड हवाइ फायरिङ र ७ राउण्ड अश्रुग्यास प्रहार गरेको सशस्त्र प्रहरी बल घुस्कीका सइ दिलबहादुर तामाङले बताए ।
स्थानीयको आक्रमणमा २ जना सशस्त्र प्रहरी हवल्दार र सहायक हवल्दार गम्भिर घाइते भएका छन् । स्थानीय एक युवा गोली लागेर घाइते भएका छन् ।
यसैबीच घटना बारेमा बिहीबार इनरुवामा जिल्ला प्रशासन कार्यालय, प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधि, स्थानीय सरोकारवाला बीच वार्ता गरेर छानबिन समिति गठन गर्ने सहमति भएको गाउँपालिका अध्यक्ष अन्सारीले बताए ।

प्रतिक्रिया