सरकार र डा. केसीको वार्ता टोलीबीचको वार्ता असफल

सरकार र डा. केसीको वार्ता टोलीबीचको वार्ता असफल


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ साउन २०७५
  • 19.9K
    Shares

सरकार र डा. केसीको वार्ता टोलीबीच सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता असफल भएको छ । चिकित्सा शिक्षा विधेयकमा डा. केसी पक्षले राखेको संशोधनका प्रस्तावमा सरकारी पक्षले कुनै ठोस जवाफ नदिएपछि वार्ता असफल भएको हो ।

सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको भन्दै डा. केसीको वार्ता टोलीले अब आफूहरुले दिएको सूचीका आधारमा सुधारसहित चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिवद्धता आएपछि मात्र वार्तामा बस्ने बताएको छ ।

सरकारी वार्ता टोलीले परामर्शका लागि एक घन्टा मागेको थियो । स्रोतका अनुसार टोलीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई मध्यस्थकर्ताको भूमिका खेल्न आग्रह गरेको थियो, जसले सम्वादहीनता अन्त्य गर्न पहल गरेका थिए । तर, नेता नेम्वाङले त्यस्तो संकेत नदिएपछि सरकारी टोलीले ठोस जवाफ दिन सकेन ।

डा. केसीको स्वास्थ्य असाध्यै नाजुक भइसक्दा पनि सरकारी पक्ष गैरजिम्मेवार बनेको र विधेयकसम्बन्धी दफागत छलफलमा प्रवेश नै गर्न नचाहेको केसीको वार्ता टोलीका संयोजक डा. अभिषेकराज सिंहले बताएका छन् ।

सरकारले सत्याग्रहीको ज्यान जोखिममा पार्ने र चिकित्सा शिक्षा क्षेत्रमा सुधारका काममा हलो अड्काउने रवैया देखाएको भन्दै उनले भनेका छन्, ‘यो अवस्थामा थप अलमल गरेर डा. केसीको स्वास्थ्यलाई झनै जोखिममा पर्न हामी तयार छैनौं ।’

यसअघि मंगलबार राति पनि सरकार पक्षकाले विधेयक संशोधनबारे सहमति गर्न आफूसँग ‘म्यान्डेट’ नभएको बताएका थिए। त्यसपछि अन्य मागमा मात्र कुराकानी भएको थियो। डा. केसीले भने विधेयक संशोधनको मुख्य मागमै छलफल नभएकोमा असन्तुष्टि जनाएका थिए

बुधबार केसी अनसनको २६औं दिन हो। यो अहिलेसम्मकै लामो अनसन हो। डा. केसीले माथेमा कार्यदलको सुझावकै आधारमा चिकित्सा शिक्षा कानुन बन्नुपर्ने माग गर्दै आएका छन्। पूर्ववर्ती शेरबहादुर देउवा सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशका केही बुँदा हटाएर नयाँ विधेयक संसदमा पेस गरिएपछि डा. केसी अनसन बसेका हुन्।

काठमाडौं उपत्यकाभित्र दस वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने, एउटै विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेज सम्बन्धन नदिने, लगातार तीन वर्ष अस्पताल सञ्चालन गरेको कलेजलाई मात्र सम्बन्धन दिने लगायत अध्यादेशमा भएको व्यवस्था चिकित्सा शिक्षा विधेयकमा राखिएका छैनन्।

यही विधेयकको विरोधमा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर अनसन बसेका डा. केसीलाई सरकारले गत बिहीबार जबर्जस्ती काठमाडौं ल्याएको थियो।

वार्तामा सरकार तर्फबाट शिक्षासचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने छन्।

केसीका तर्फबाट डा. जीवन क्षत्री, डा. अभिषेक सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे छन्।

प्रतिक्रिया