सफाई पाएपनि म्याच फिक्सिंग आरोप लागेका खेलाडीलाई क्षतिपुर्ति कसले दिने ?

सफाई पाएपनि म्याच फिक्सिंग आरोप लागेका खेलाडीलाई क्षतिपुर्ति कसले दिने ?


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २४ जेष्ठ २०७५
  • 40.6K
    Shares

म्याच फिक्सिङको आरोप लागेका फुटबलर सागर थापासहित ६ जनाले विशेष अदालतबाट सफाइ पाएपछि जिन्दगीकै सबैभन्दा कठिन समयबाट बाहिर निस्कन पाएको भन्दै खुशी साटासाट गरेका छन् । राज्यविरुद्धको अपराधमा मुद्दा खेपेका उनीहरुले सफाइपछि विशेष अदालत परिसरमै आरोपसहित बाँचेको कठिन तीन वर्ष सम्झिरहेका थिए ।

राष्ट्रिय फुटबल टिमका तत्कालिन कप्तान सागर थापाले आरोप लिएर बाँच्न निकै सकस भएको र त्यसबाट सफाइ पाएसँगै राष्ट्रिय टिममा फर्किएर खेल्ने इच्छा बलियो बनेको बताएका छन् ।

‘यत्रो वर्ष देशका लागि खेलियो । त्यसमा लडेर आज न्याय पाउँदा खुशी लागेको छ । अब एएफसीमा, फिफामा पनि अपिल गर्नुपर्छ । त्यसपछि राष्ट्रिय टिममा फर्किएर खेल्न सक्छौं’ विशेष अदालत बाहिर भेटिएका उनले सुनाए, ‘अझै पनि राष्ट्रिय टिममा खेल्ने इच्छा छ ।’

यति लामो समय आरोपित गरेर राख्दा अपमानित बनेका उनीहरुको क्षतिपुर्ति कसले व्यहोर्ने हो ? नेपाली खेल जगतमा प्रश्न उठेको छ l

यस अघि म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ । अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले बिहीबार सफाइ दिने फैसला सुनाएको हो ।

 

राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकास सिंह क्षेत्री, प्रशिक्षक अञ्जन केसी र फिजियो डेजिव थापाले सफाइ पाएका हुन् । उनीहरुविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो । तर, राज्य विप्लवको कसुर गरेको नदेखिएको फैसलामा उल्लेख छ ।

फिक्सिङको आरोपमा २७ असोज २०७२ मा सागर थापासहितका खेलाडी पक्राउ परेका थिए भने २४ कात्तिकमा सबै धरौटी बुझाएर छुटे । अञ्जन केसी र रितेश थापाले ५ लाख, सागरले १ लाख ५० हजार र अन्यले ५० हजार धरौटी तिरेका थिए ।

नेपालले २००८ देखि खेलेका अन्तर्राष्ट्रिय खेलमा पैसा लिएर हारेको भेटिएको भन्दै प्रहरी पक्राउ गरेको थियो । उनीहरुले प्रहरीसामू फिक्सिङ स्वीकार गरे पनि अदालतमा इन्कारी बयान दिए । फिफाले भने उनीहरुमाथि आजीवन प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया