उखुको भुक्तानी नपाएपछि एभरेष्ट चिनी मिलमा तालावन्दी

उखुको भुक्तानी नपाएपछि एभरेष्ट चिनी मिलमा तालावन्दी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ जेष्ठ २०७५
  • 11.5K
    Shares

लामो समयसम्म पनि उखुको भुक्तानी नपाएपछि महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलमा कृषकले तालावन्दी गरेका छन् ।  उखु उत्पादक कृषकले आज चिनी मिलको मुल गेट, सहायक गेट, प्रसाशन शाखा, उखु विभाग, वाणिज्य भवन र मिल हाउसमा तालावन्दी गरेका हुन् ।

उखु उत्पादक कृषक महासंघ, चिनी उद्योग र सरकारबीच भएको त्रिपक्षीय सम्झौता अनुसार, आफुहरुले भुक्तानी पाउनुपर्ने कृषकको एक सुत्रीय माग छ । सो त्रिपक्षीय सम्झौतामा उखु खरिद गरेको ३० देखि ४५ दिनभित्र चीनी मिलले भुक्तानी दिइसक्नुपर्ने उल्लेख छ । तर एभरेष्ट चिनी मिलले एक सय २७ दिन वितिसक्दा पनि भुक्तानी नदिएको उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेस सिंह कुसवाहले जानकारी दिनुभयो ।

गत बैशाख २६ गते भुक्तानी पाउन बाँकी कृषकको लगत माग्दा नदिएपछि चिनी उद्योगको नियतीमा खोट देखिएको उखु उत्पादन महासंघका केन्द्रीय सदस्य महाशंकर थिङले बताउनुभयो । माग सम्वोधन नभए आन्दोलन थप सशक्त बनाउने उखु कृषकले चेतावनी समेत दिएका छन् ।

एभरेष्ट चिनी मिलका उखु महाप्रवन्धक युगलकिशोर चौरसियाले आफ्नो उत्पादन विक्रि नभएकाले कृषकको भुक्तानी दिन नसकेको बताउनुभएको छ । सरकारले भारतबाट चिनी आयात गर्न छुट दिएको र नेपाली उत्पादन महँगो भएकाले भुक्तानी दिन नसकिएको उल्लेख गर्नुभयो । नेपाल बैंक र वाणिज्य बैँकमा चिनी धितो राखेर ५५ करोड ऋण लिई गत पुषसम्मको भुक्तानी दिइसकेको उहाँको भनाई थियो ।

 

प्रतिक्रिया