‘बोक्सीकाण्ड’ मा मिलापत्र गराउने मेयर ममतामाथि कारवाही शुरु

‘बोक्सीकाण्ड’ मा मिलापत्र गराउने मेयर ममतामाथि कारवाही शुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २७ फाल्गुन २०७४
  • 15.1K
    Shares

‘बोक्सीकाण्ड’ मा मुछिएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि नेकपा एमालेले कारवाही प्रक्रिया अघि बढाएको छ । प्रहरीबाट दोषी छुटाउनेहरुलाई तत्काल कारवाही गर्न प्रधानमन्त्री कार्यालयले समेत कैलाली जिल्ला प्रशासनलाई निर्देशन दिएको छ ।

गत विहीबार स्थानीय युवती राधा चौधरीमाथि झाँक्री रामबहादुर चौधरीले दुर्व्यबहार गर्दा मेयर ममताप्रसाद चौधरी रमिते बनेको समाचार आएपछि एमालेले उनीसँग स्पष्टीकरण लिएको छ । मेयर चौधरी एमाले जिल्ला कमिटी सदस्य तथा बुद्धिजीवी परिषदका जिल्ला उपाध्यक्षसमेत हुन् ।

पार्टीले चौधरीसँग मौखिक स्पष्टीकरण लिइसकेको र अब छानविन कमिटी गठन गरी थप प्रक्रिया अघि बढाउने जिल्ला इन्चार्ज तथा कैलाली २ का सांसद झपट रावलले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयले समेत आइतबार एक प्रेस नोट जारी गर्दै प्रहरीबाट अपराधीहरु छुटाउने कार्यमा संलग्नमाथि तत्काल छानविन गरी दोषीउपर कारवाही गर्न सिडियो कार्यालयलाई निर्देशन दिएको छ

तत्काल कैलाली जिल्ला कमिटी पदाधिकारी बैठक राखेर छानविन समिति गठन गर्न आफूले जिल्ला अध्यक्षलाई निर्देशन दिइसकेको रावलले बताए ।

यसैवीच प्रधानमन्त्री कार्यालयले समेत आइतबार एक प्रेस नोट जारी गर्दै प्रहरीबाट अपराधीहरु छुटाउने कार्यमा संलग्नमाथि तत्काल छानविन गरी दोषीउपर कारवाही गर्न सिडियो कार्यालयलाई निर्देशन दिएको छ ।

मेयर चौधरीको दोष देखिए पार्टीले कडा कारवाही गर्ने जिल्ला इञ्चार्ज रावलले बताए । चौधरीको भूमिकाका बारेमा पार्टी केन्द्रबाट सोधपुछ भएपछि जिल्ला कमिटीले छानविन थालेको हो ।

अपराधीलाई छुटाउने कार्यमा मेयरको संलग्नबारे पार्टीका उपाध्यक्ष तथा ७ नम्बर प्रदेश संयोजक भीम रावलले चासो राखेपछि जिल्ला कमिटी बैठक बस्न लागेको हो । जिल्ला कमिटीबाट ३ सदस्यीय छानविन कमिटी गठन गर्न लागिएको अध्यक्ष दीर्घ सोडारीले बताए ।

घटनामा दोषी जो भए पनि कारवाही गर्न आफूले जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई पनि भनिसकेको रावलले बताए । उनले अनलाइनखबरसँग भने-मैले आजै पनि मेयर चौधरीसँग लामो कुराकानी गरेँ । उनले आफ्नो संलग्नता अस्वीकार गरेका छन् । प्रहरीले पनि मेयरले मान्छे छुटाएको कुरा अस्वीकार गरेको छ । तर, उनी विवादमा परिसकेकाले छानविन हुन्छ र दोषी भए कारवाही हुन्छ ।

जिल्ला इञ्चार्ज रावलले जघन्य घटनामा चौधरीको संलग्नता नभए पनि उनले मिडियामा दिएको प्रतिक्रिया संवेदनाहीन देखिएको बताए । यदि घटनाका बेला मेयर रमितेमात्र बनेको हो भने त्यो सैहृय नहुने भन्दै एमालेले दोषीलाई जोगाउने भूमिका नखेल्ने उनले बताए ।

पीडितको अवस्था कमजोर

कुटपिटबाट अशक्त बनेकी राधा चौधरीको अहिले सेती अञ्चल अस्पतालको सर्जिकल वार्डमा उपचार भैरहेको छ । उनको उपचारमा संलग्न चिकित्सक डा. सुरेन्द्र बस्नेतले घाइते चौधरीको आँखा र शरीरभरि नीलडाम रहेको बताए । उनले आँखामा चोट देखिएका कारण उनलाई गेटा आँखा अस्पतालमा आँखा जाँचका लागि रेफर गरिएको बताए ।

डा. बस्नेतले घटनापछि चौधरी मानसिकरुपमा विक्षिप्त देखिएको बताए । उनले घाइते चौधरीलाई शान्त वातावरणमा राखेर परामर्श गर्नु आवश्यक रहेको बताए ।

 बचाउका लागि मेयरको पत्रकार सम्मेलन

बोक्सीको आरोपमा किशोरीको कुटपिट घटनालाई मिलापत्र गराउन खोजेको आरोप आफूमाथि लागेपछि घोडाघोडी नगरपालिकाका प्रमुख ममता चौधरीले त्यसको खण्डन गर्ने प्रयास गरेका छन् ।

शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रमुख चौधरीले आफूले घटनालाई मिलाउन नखोजेको दाबी गरे । उनले घटनाको बारेमा सुरुको दिन खासै जानकारीसमेत नभएकाले घटनाबारे चासो नै नदिएको पत्रकार सम्मलेनमा बताए ।

आफूमाथि लागेको आरोपको सफाइ दिने उद्देश्यले सुखडबाट नगरपालिकाको बोर्ड बैठक स्थगित गरी धनगढी पुगेर पत्रकार सम्मेलनको आयोजना गरेका मेयर चौधरीले दोषीलाई कारबाही हुनुपर्छ भन्ने बताए ।

बोक्सीको आरोपमा कुटपिट गर्ने भोलेबाबा भन्ने रामबहादुर चौधरीको पक्षमा गाउँमा आधा मानिस रहेको बताउँदै नगरप्रमुख चौधरीले स्थानीयलाई तत्कालै सम्झाउन नसकिने आवस्था रहेको भन्दै लाचारी प्रकट गरे ।

मेयरकै रोहबरमा रामबहादुर छुटेका हुन्- सुख्खड प्रहरी

मेयरले अपराधी छुटाउनेमा आफ्नो संलग्नता रहेको र घटनाबारे धेरै जानकारी नभएको भने पनि खुख्खडका प्रहरी अधिकारीले भने मेयरकै रोहबरमा रामबहादुर छुटेको मिडियालाई प्रतिक्रिया दिएका छन् ।

घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय सुखडले झाँक्री रामबहादुरलाई पक्राउ गरेको थियो । तर, रामबहादुरलाई छुटाउन स्थानीयबासीको भिड इलाका प्रहरी कार्यालयमा पुग्यो । त्यसलगत्तै घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी, वडाअध्यक्ष प्रेम रोकाया र पीडित युवतीका बुवा जोखन चौधरीलगायतको रोहबरमा रामबहादुरलाई छोडिदिएको इलाका प्रहरी कार्यालय सुखडका निमित्त प्रमुख प्रहरी नायव निरीक्षक दिनेश विष्टले जानकारी दिए ।

अपराधीलाई थुनामुक्त गर्दा मेयर र वडाध्यक्षको संलग्नता थियो या थिएन भन्ने वास्तविकता पीडितका पिता पनि त्यहीँ रहेकाले तथ्य लुक्न सक्ने अवस्था छैन । किनभने, अपराधीको जाहेरी नलिने र मिलापत्र गराउनेमाथि  छानविन हुने  सरकारले बताइसकेको छ ।

आफ्नै दाजुलाई एक करोडको बोर्ड !

घोडाघोडी नागरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीले नागरपालिकामा मनोमानी गरिरहेको स्थानीयवासी र कर्मचारीहरुको गुनासो छ । सुरुदेखि नै उनले नगरपालिकालाई आफन्त र नातागोता भर्ती गर्ने केन्द्रका रुपमा प्रयोग गर्ने गरेका छन् ।

नगरपालिकाले ०७४ पौष २६ गते गठन गरेको बृहत घोडाघोडी ताल तथा पर्यटन बिकास बोर्डको नाममा १ करोड रकम विनियोजन गरिएको छ । उक्त बोर्डको कार्यकारी अधिकारसहितको उपाध्यक्षमा ३० हजारभन्दा बढी तलव सुविधा दिने गरी नगरप्रमुख चौधरीले आˆना सहोदर दाजु दयाराम चौधरीलाई नियुक्त गरेका छन ।

कैलालीकै सुखडमा रहेको लिटिल एन्जल बोडिङ स्कुलको सञ्चालक समेत रहेका मेयरका दाइ दयाराम चौधरीलाई नगरप्रमुख ममता प्रसाद चौधरीले नेपाल सरकारको राजपत्रमा प्रकाशित तृतीय श्रेणीको अधिकृतलाई दिने सरहको तलब दिने भन्दै उपाध्यक्षमा नियुक्त गरेका हुन् ।
बोर्डमा उपाध्यक्ष नियुक्त गरिएका सहोदर दाजुको बाहेक अन्य कसैका पनि सेवा सुविधा मेयर चौधरीले हालसम्म तोकेका छैनन् । उपाध्यक्षबाहेक अन्यको सेवा सुविधा तथा तलब भत्ता के कति हुनेबारे कुनै निर्णय नभएको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृतनराज पौडेलले जानकारी दिए ।

मेयरले पर्यटन प्रवद्धन गर्न गठित बोर्डमा आफ्नै दाजुलाई नियुक्त गरेपछि स्थानियबासी आक्रोसित बनेका छन् । मेयरको चलाखीमा बोर्ड गठन गरिएको र आˆनै दाजुलाइ नियुक्त गर्नु गलत रहेको घोडाघोडी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख लक्ष्मीराम भट्टराईले बताए ।

झाँक्रीसँग ८ दिनका लागि बिहे गरेको बताउने ‘पार्वती’ पक्राउ

कैलालीको घोडाघाडी नगरपालिका-५ देउकलीमा विहीबार राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने किस्मती चौधरी (पार्वती) प्रहरीले पक्राउ गरेको छ ।

देउकलीकै स्थानीय बासिन्दा २० वर्षीया किस्मति चौधरीले आफू पार्वती भएको भन्दै राधामाथि निर्घात कुटपिट गरेकी थिइन् । उनले शिवजी रुप धारण गरेका झाँक्री रामबहादुर चौधरीसँग आफूले ८ दिनका लागि बिहे गरेको बताउने गरेकी थिइन् ।

 

रामबहादुर यसअघि नै पक्राउ परे पनि कस्मती फरार थिइन् । तर, उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायब निरिक्षक दिनेश विष्टले जानकारी दिए । पक्राउ गरिएकै कस्मतीलाई जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको विष्टले बताए ।

पक्राउ परेकी किस्मतीलाई जिल्ला प्रहरी कार्यालय कैलालीको महिला सेलमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।

पक्राउ परेका दुबै रामबहादुर चौधरी र किस्मती चौधरीलाई आजै जिल्ला अदालतबाट म्यादथप गराई थप अनसुन्धान गरिने बोहोराले बताए ।

पीडित छात्रा राधालाई घरबाट उठाएर झाँक्रीको घरसम्म लैजाने महिलाहरु भने अझैसम्म पक्राउ परेका छैनन्. । उक्त घटनामा संलग्न अन्यको पनि खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

गत विहीबार नारी दिवसका दिन झाँक्री रामबहादुर चौधरी र किस्मती चौधरीले स्थानीय छात्रा राधा चौधरीलाई बोक्सीको आरोपमा सयौं गाउँलेका अगाडि छ घण्टासम्म निर्घात कुटपिट गरेका थिए ।

 

प्रतिक्रिया