कालोपत्रे नसकिँदै उप्कियो, दिक्तेल–हलेसी सडक

कालोपत्रे नसकिँदै उप्कियो, दिक्तेल–हलेसी सडक


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २३ फाल्गुन २०७४
  • 7.2K
    Shares

केदार लाफा खोटाङ

मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्रे नसकिँदै उप्किएको छ । कालोपत्र गर्नुअघि सडकमा बिच्छ्याइएको रोडा÷ढुंगा कमसल भएको कारण कालोपत्रे उप्किएको हो ।
तीन वर्षअघिदेखि कालोपत्रे थालिएको दिक्तेल–हलेसी सडक खण्डको हलेसी र अर्खौलेकोबीचमा गरिएको कालोपत्रे महिना दिन नपुग्दै उप्किएको स्थानीयले बताएका छन् । तीन खण्डमा विभाजन गरेर काम थालिएको सो सडकको दिक्तेलदेखि हुर्लुङसम्मको खण्डमा भने अहिले ग्रावेलिङको काम भइरहेको छ ।

उक्त खण्डमा पनि नुनथलास्थित हुर्लुङ पाखाको कमसल (सेतो फोस्के) रोडा÷ढुङ्गा प्रयोग गरेको पाइएको छ । सडक कालोपत्रे गुणस्तरहीन बन्दै गएकोप्रति अहिलेसम्म कसैले ध्यान नदिएको स्थानीयको गुनासो छ ।

 

सडक कालोपत्रेको जिम्मा लिएको ठेकेदार कम्पनीले नाफा कमाउने उद्देश्यले कमसल सामग्री प्रयोग गरेको स्थानीयको आरोप छ । जिल्लाको प्रमुख मार्ग दिक्तेल–हलेसी सडक कालोपत्रे गर्ने जिम्मा लामा नागार्जुन र लामा नागार्जुन त्रिसुलीले लिएको छ ।

कालोपत्रे गुणस्तरहीन भएको जनगुनासो आएपछि ठेकेदार राम पाख्रिनसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । निर्माणस्थलमा खटिएका इन्जिनियरहरुले ठेकेदारले अह्राए अनुसार आफूहरुले काम गरेको बताएका छन् ।

काम सम्पन्न नभइ कालोपत्रे उप्किएको बारेमा प्राविधिकसहितको टोली लिएर स्थालगत अनुगमन गर्ने हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले बताए । ‘हामीले गुणस्तर कायम गर्न पटक–पटक खबरदारी गरिरहेका छौं,’ उनले भने, ‘गुणस्तरहीन भएकै रहेछ भने कारबाहीको प्रक्रिया अगाडि बढाउछु ।’

जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हलेसीदेखि बिजुलेसम्मको १२ किलोमिटर सुर्यदेवी कन्काई तथा बिजुलेदेखि दिक्तेलसम्मको २४ किलोमिटर कालोपत्रे गर्ने जिम्मा नागार्जुन र लामा नागार्जुन त्रिसुलीले लिएको छ । एसियाली विकास बैंक (एडिबि)को आर्थिक सहयोगमा तीन वर्षभित्र कालोपत्र सम्पन्न गर्नेगरी काम थालिएको हो ।

करिब दश वर्ष अघिदेखि यातायात सुचारु भएको दिक्तेल–हलेसी सडक कालोपत्रे नहुँदा हिउँदमा मात्र यातायात सञ्चालन हुँदै आएको छ । सम्झौता गरेको लामो समयसम्म सुस्त गतिमा काम भइरहेको दिक्तेल–हलेसी सडक कालोपत्रे तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ठाडो निर्देशनपछि गति लिएको थियो ।

प्रतिक्रिया