प्रम ओलीको निर्देशनलाई दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाले लत्याए, युरोपमा मस्ती गर्दै

प्रम ओलीको निर्देशनलाई दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाले लत्याए, युरोपमा मस्ती गर्दै


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २२ फाल्गुन २०७४
  • 7.7K
    Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई बालुवाटारमै बोलाएर कर्मचारीहरुको विदेश भ्रमण तत्कालै रोक्न कडा निर्देशन दिए पनि त्यो लागू हुन सकेन । प्रधानमन्त्री ओलीको निर्देशनलाई लत्याउँदै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा युरोपमा मस्ती गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीको निर्देशन लगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले फागुन १० गते सरकारी कर्मचारीको विदेश भ्रमण रोक्न सबै मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । उक्त निर्देशनपछि विदेश भ्रमणको तयारीमा रहेका करिब ३ सय ५० कर्मचारीको भ्रमण स्थगित भएको थियो । तर, निर्देशनलाई लत्याउँदै प्राधिकरणका अध्यक्ष झा, सञ्चालक समितिका सदस्य मणि चौलागाईं, निर्देशक आनन्द खनाल प्राधिकरणको खर्चमा स्पेनको बार्सिलोना भ्रमणमा गएका थिए ।

सामान्य एक्स्पो हेर्ने बहानामा स्पेन पुगेका चौलागाईं र खनाल फर्किसकेका छन् भने झा युरोपको यात्रामा रमाइरहेका छन् । झापछि प्राधिकरणका निर्देशक पुरुषोत्तम खनाल, दिपेश आचार्य, मिनप्रसाद अर्याल, अर्जुन घिमिरे, सुरेन्द्र हाडा, विनोद श्रेष्ठ र अञ्जना देवकोटा विदेश भ्रमणको तयारीमा छन् ।
देशमा नयाँ सरकारको गठन भएको र दूरसञ्चारको क्षेत्रमा अड्किएको कामलाई अगाडि बढाउनुपर्नेमा अध्यक्ष झा आफँै देश बाहिरिनुलाई त्यहाँका कर्मचारीले अराजकताको संज्ञा दिएका छन् ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले कुर्ची छाड्ने बेलामा जथाभावी सरकारी ढुकुटी रित्याएका कारण देश ऋणमा चलिरहेको बेला विदेश भ्रमणका नाममा अर्बौ खर्च गर्ने कर्मचारीहरुमाथि छानविन गरेर कारवाही गरिनु पर्छ । अन्यथा, ‘नानीदेखि लागेको बानी’ले सरकार निकम्मा हुन सक्छ ।
दूरसञ्चार प्राधिकरण सेवा प्रदायक कम्पनीहरुको नियामक निकाय हो । तर, यस संस्थामा झाको प्रवेश भएदेखि प्राधिकरण भ्रष्टाचारको अखडा बनेको छ । सेवा प्रदायक कम्पनीहरुलाई नियमन गर्नुभन्दा पनि सेवा प्रदायक कम्पनीहरुसँग मोटो रकम असुलेर आफ्नो कुर्ची जोगाउने काममा मात्र झा अल्झिएका छन् । पछिल्लो पटक अध्यक्षको म्याद थप्न पनि सेवा प्रदायकहरुसँग पाँच करोड उठाएर मन्त्री मोहनबहादुर बस्नेतलाई दिएको आरोप छ । सरकारमा जो आए पनि पैसाकै कारण झाले आफ्नो प्रभावमा पार्दै आएका छन् ।
तत्कालीन सूचना मन्त्री शेरधन राईको समयमा ७ वटै प्रदेशमा अप्टिकल फाइवर विस्तार गर्ने ठेक्का सम्झौता गरे पनि त्यसतर्फ काम अगाडि बढाउन झाले चासो दिएका छैनन् । अर्बौको अप्टिकल बिछ्याउने काममा समेत झाले सेवा प्रदायकबाट करोडौं कमिशन लिएको कुरा प्राधिकरणका कर्मचारीहरु बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार