सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताविरुद्ध दमनको नीति अघि बढाएको छ l त्यही क्रममा गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि निगरानी बढाएको छ।
गृहले विप्लवका कार्यकर्ताहरूलाई सभा, सम्मेलनलगायत गतिविधि गर्न नदिन र संगठित भएको पाइए तत्कालै पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ। गृहले शान्ति सुरक्षामा खलल पार्ने गतिविधिमा संलग्न भएको पाइए विप्लवका नेता–कार्यकर्तामाथि तत्काल मुद्दा चलाउनसमेत निर्देशन दिएको छ।
केही समय साम्यजस्तो देखिएका उनीहरुका गतिविधिमा तीब्रता आएपछी गृहले उनीहरूमाथि कडा निगरानी गर्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ।
गृहले संविधान र कानुनविरोधी काम गर्ने समूह वा व्यक्तिका गतिविधि माथि कडा निगरानी गरिएको जनाएको छ। उसले त्यस्ता शान्ति सुरक्षामा खलल पार्ने गतिविधिमा सक्रिय हुने जोकोहीमाथि मुद्दा लगाइने र निगरानीका लागि सुरक्षा निकायलाई निर्देशन दिइएको जनाएको छ।
गृहप्रवक्ता नारायणप्रसाद दवाडीले शान्ति सुरक्षामा खलल पार्न खोज्ने व्यक्तिउपर कडा निगरानी गरिएको बताए। गृहले मुलुकभरका विप्लवका नेता–कार्यकर्ताको अभिलेख बनाई सोहीबमोजिम निगरानी र आवश्यक कारबाही गर्नसमेत सुरक्षा निकायलाई निर्देशन दिएको छ।
प्रहरीले फागुन ६ मा विराटनगरको गुद्री बजारबाट नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली र पोलिटब्युरो सदस्य पदमबहादुर राईलगायत कार्यकर्तालाई नियन्त्रणमा लिएपछि उनीहरूको हिंसात्मक गतिविधिमा बढोत्तरी आएको हो।
विराटनगरमा आइतबार हुन तय भएको नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा जनस्वयंसेवक सम्मेलनमा प्रहरीले हस्तक्षेप गरी ओली र राईसहित झन्डै २ सय नेता–कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो। नेकपाले माघ १५ देखि चैत २४ सम्म तीनमहिने मेची–महाकाली जागरण अभियान चलाइरहको छ।
निर्वाचनविरोधी हिंसात्मक गतिविधि चलाएका विप्लव माओवादीका केन्द्रीय नेता त्यसपछि सार्वजनिक भएका थिएनन्। उनीहरू भूमिगत शैलीमा गतिविधि सञ्चालन गर्दै आएका छन्।
पछिल्लो पटक प्रज्ञा भवनमा विद्यार्थीै संगठनले आयोजना गरेको एक समारोहमा सहभागी हुने कार्यक्रमसमेत विप्लवले अन्तिम समयमा स्थगन गरेका थिए। अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतभित्र मोसो दल्ने दुई कार्यकर्तालाई विप्लवको हातबाट सम्मान गराउन उक्त कार्यक्रम आयोजना गरिएको थियो।
नेकपाका कार्यकर्ताले मुलुकका अधिकांश स्थानमा रहेका एनसेलका टावर तथा संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनामाथि समेत आक्रमण गरेका थिए।
भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माको घरमा समेत विप्लवका कार्यकर्ताले आक्रमण गरेका थिए।
समानान्तर सरकार चलाएको दाबी गर्दै आएको विप्लवनिकट कतिपय जिल्लाका कार्यकर्ताले खुला रूपमै स्थानीय सरकारलाई कर नतिर्न भन्दै आएका छन्।
गृह मन्त्रालयले विप्लवका कार्याकर्ताले शान्ति सुरक्षामा खलल पार्ने बाटो रोजेपछि शान्ति–सुरक्षा कायम गर्न उनीहरूका गतिविधि नियन्त्रणमा लिई त्यस्ता व्यक्तिउपर तत्काल मुद्दा चलाउन सुरक्षा निकायलाई निर्देशन दिएको हो। @अन्नपुर्णपोस्ट