एमाले र माओवादीवीच घनीभूतरुपमा चलिरहेको एकता वार्ताबारे २४ घण्टामा फरक-फरक समाचार आउन थालेका छन् । कहिले कुरा मिलिसक्यो भन्ने सामाचार आउँछन् त कहिले कुरो बिग्रियो भन्ने खबर आउँछ ।
आखिर भित्रभित्रै भइरहेको चाहिँ के छ ? ओली र प्रचण्डले एकै दिनमा पांच घन्टासम्म गोप्य कुरो गर्दा पनि किन ‘वीरबलको खिचडी’ पाकिरहेको छैन ?
एमाले र माओवादीवीचको एकता प्रक्रिया कहाँनेर अड्किएको हो भनेर हामीले प्रश्न गर्दा एमालेका एकजना उपल्लो तहका नेताले भने- ‘एकता प्रक्रिया अड्किएको छ भन्ने नै म मान्दिनँ । स्वाभाविकरुपमा यसले समय लिन्छ र लिइरहेको छ । तर, सबै कुरा सकारात्मक ढंगबाटै अघि बढिरहेको छ ।’
अहिलेसम्म के-के मिल्यो त ?
अहिलेसम्म भएका दुई पार्टीवीचको छलफलबाट प्रधानमन्त्री को बन्ने भन्ने विवाद टुंगो लागेको छ र केपी ओली माओवादीको समर्थनमा प्रधानमन्त्री बनिसकेका छन् । पहाड खन्दा निस्किएको पहिलो ‘मुसो’ यही नै हो ।
प्रधानमन्त्रीसँगै पार्टीको शीर्ष नेतृत्वको पनि कुरो टुंगो लागेको नेताहरुले बताएका छन् । प्रचण्ड र ओली दुबैले महाधिवेशन अघिसम्म सक्रियतापूर्वक पार्टीको नेतृत्व लिने इच्छा गरेकाले सोहीअनुरुप अध्यक्षको विषय टुंगो लागेको एमाले नेताहरुको दाबी छ । यो सहमतिलाई अध्यक्ष, सहअध्यक्ष वा कुन पदावलीले सम्वोधन गर्ने भन्नेबारे स्पष्ट कुरा बाहिर आएको छैन ।
एकजना एमाले नेताले सांकेतिक भावमा भने- ‘अहिले यत्ति बुझ्नोस् कि हामी एमालेजनहरु प्रचण्डलाई मनमोहन अधिकारीलाई जस्तै काँधमा बोक्न तयार भएका छौं ।’
प्रधानमन्त्री र पार्टी अध्यक्ष बाहेक अब टुंगो लगाउनुपर्ने अर्को विषय राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको जिम्मेवारी हो । स्रोतका अनुसार राष्ट्रपतिमा विद्या भण्डारीलाई नै निरन्तरता दिने र उपराष्ट्रपतिको टुंगो माओवादीले नै लगाउने सम्भावना बढेको छ ।
सभामुखको हकमा एमालेले राष्ट्रिय सभाको अध्यक्ष माओवादीलाई दिएर प्रतिनिधिसभाको सभामुख आफूले लिने प्रस्ताव गरेेको छ । सभामुख आफूले पाए राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष दुबै माओवादीलाई दिन सकिने एमाले नेताहरुको प्रस्ताव छ । तर, राष्ट्रपति एमालेले पाएपछि सभामुख आफूले पाउनुपर्ने माओवादी नेताहरुको माग छ । यस विषयमा दुई पार्टीवीच अझै कुरो मिलिसकेको छैन ।
तर, पार्टी एकता नै गर्ने हो भने यी पदहरुमा माओवादी र एमाले भनेर भाग लगाउन नहुने र व्यक्तिका विषयमा मात्रै बहस हुनुपर्ने धारणा पनि दुबै पार्टीभित्र आइरहेको स्रोतले बतायो ।
प्रमुख संवैधानिक जिम्मेवारीहरुका साथै ओली नेतृत्वको सरकारमा कुन मन्त्रालय कसलाई बाँड्ने भन्नेबारेमा पनि कुरा मिल्न बाँकी रहेको स्रोतका भनाइ छ । आइतबारको ओली प्रचण्डवीचको ५ घण्टेे छलफलमा पनि दुई नेतावीच सरकार गठनको गृहकार्यबारे कुराकानी भएको एक नेताले बताए ।
मन्त्रालय र महत्वपूर्ण राजनीतिक पदहरुमा कार्यविभाजन मिलिसकेपछि जबज, माओवादलगायतका विषयहरु सहजै टुंगो लाग्ने एमाले नेताहरुको दाबी छ ।
जबज ब्राण्ड हो, छाड्न सकिँदैनः एमाले
एमालेले भन्दै आएको जबज एक प्रकारको ‘ब्राण्ड’ बनिसकेकाले देशैभरिका एमालेले यसलाई छाड्न नसक्ने नेताहरुले बताएका छन् । तर, आगामी महाधिवेशनसम्म यसबारे छलफल गर्न र जबजको नाम परिमार्जन गर्न सकिनेमा भने एमाले नेताहरु कन्भिन्स भएकाले पार्टी एकतालाई असर नगर्ने दुबै पक्षमा समान बुझाइ रहेको एमाले नेताको दाबी छ ।
त्यसैगरी आगामी महाधिवेशनसम्म कसैलाई माओवाद र एक्काइशौं शताब्दीको जनवादका बारेमा बहस गर्न मन भएमा त्यस्तो बहसलाई पनि खुल्ला गर्न सकिनेमा एमाले नेताहरु तयार भएको स्रोतले बतायो । एमालेका एक नेताले भने-‘जबजले बहसलाई निशेष गर्दैन, पार्टीभित्र खुल्ला बहस गर्न पाइन्छ ।’
तर, जनताको बहुदलीय जनवादको सारमा माओवादी असहमत नरहेकाले यसको सारलाई खिचेर नयाँ डकुमेन्ट तयार पार्ने सहमति दुबै पक्षका नेताहरुवीच भइसकेको छलफलमा सहभागी नेताको दाबी छ ।
केन्द्रीय समिति कस्तो बनाउने ?
एमाले र माओवादीवीच छलफल हुन बाँकी रहेको अर्को एजेण्डा केन्द्रीय समिति कस्तो र कति सदस्यीय बनाउने भन्ने हो । माओवादीमा ४ हजार केन्द्रीय सदस्यहरु रहेको र एमालेमा २ सयमात्रै रहेको अवस्थामा यसलाई तार्किक निश्कर्षमा पुर्याउनु चुनौतीपूर्ण छ । र, यसबारे दुई पक्षमा छलफल हुन बाँकी नै रहेको स्रोतको भनाइ छ ।
यसका लागि कार्यदल बनाउने र अन्तरिम विधान बनाउने सहमति भए पनि केन्द्रीय समिति, स्थायी कमिटी र पदाधिकारीका विषयमा संख्या र मापदण्ड दुबै शीर्ष तहबाटै टुंगो लगाइने एमाले नेताहरु बताउँछन् । र, यिनै भारी भरकम विषयहरु एकसाथ टुंगो लगाउनुपर्ने भएकाले ओली र प्रचण्डवीच दिनहुँ घण्टौं छलफल भइरहेको नेताहरुको तर्क छ ।
एकता वार्ता किन निश्कर्षमा पुग्न नसकेको भन्ने प्रश्नमा एमालेका एक नेताले भने- ‘समय त लागि हाल्छ नि । अझै केही दिन लाग्न सक्छ । तर, यसलाई ढीलो भएको भन्न मिल्दैन, छलफल सकारात्मक छ र छिटोछिटो काम भइरहेको छ ।’
माओवादीमा शंकाले लंका जलायो
एमाले नेताहरुले वार्ता सकारात्मक ढंगले अघि बढेको बताइरहँदा माओवादीका शीर्ष नेताहरुमा चाहिँ छटपटी देखिने गरेको छ । केपी ओलीले एकता नचाहेका त होइनन् भन्दै माओवादी नेताहरु झस्किने गरेका छन् ।
केपी ओली बैंकक गएर फर्केपछि एकताप्रति उदासीनजस्तो देखिएको एक माओवादी नेताले बताए । माओवादी नेताले भने- ‘ओलीजी बैंकक गएपछि केही फेरिएको हामीले महसुस गरेका छौं । उहाँले त्यहाँ केही भारतीयलाई भेटेको हामीलाई आशंका छ ।’
बुधबारको छलफलमा एमाले नेताहरु जबजप्रति कडारुपमा प्रस्तुत भएपछि प्रचण्डलाई रातभरि निद्रा नलागेको एक माओवादी नेताले अनलाइनखबरलाई जानकारी दिए ।