नब्बे प्रतिशत दुर्घटना सिन्डिकेटले : प्रतिवेदन

नब्बे प्रतिशत दुर्घटना सिन्डिकेटले : प्रतिवेदन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३२ साउन २०७३
  • 13K
    Shares

देशभरि हुने ९० प्रतिशत सवारी दुर्घटनाका कारण सिन्डिकेट रहने गरेको पाइएको छ । उपत्यका ट्राफिक महाशाखाले हालै तयार पारेको प्रतिवेदनमा दुर्घटनाको मुख्य कारण सिन्डिकेट रहने गरेको उल्लेख छ ।

‘सडकको अवस्था नाजुक छ, त्यसैमा पुराना गाडी चल्छन्,’ उपत्यका ट्राफिक महाशाखा प्रमुख डीआईजी प्रकाश अर्यालले भने, ‘यस्तो अवस्थामा चालकको लापरबाही र सिन्डिकेटले गर्दा ९० प्रतिशत दुर्घटना हुने गरेको छ ।’ पुराना सवारी साधन, नक्कली पार्टपुर्जा र खराब बाटो पनि कारक रहेको उनले बताए । प्रतिवेदनमा अधिकांश गाडी दुर्घटनाको मुख्य कारण सडकमा यातायात व्यवसायीको मनपरी, चेतनाको कमी, कम उमेरका चालक र पर्याप्त तालिमको अभावलाई औंल्याइएको छ । लामो रुटमा चल्ने गाडीको संख्या पर्याप्त नहुँदा प्रत्येक वर्ष गाडी दुर्घटनाको संख्या बढ्दै गएको पनि महाशाखाले जनाएको छ

२०७० यताका तीन वर्षको तथ्यांक केलाउँदा दैनिक ५ जनाको सवारी दुर्घटनामा ज्यान जाने गरेको छ । दिनहुँ ४० वटा सवारी दुर्घटना हुने गरेका छन् । महाशाखाका अनुसार आर्थिक वर्ष २०७२/७३ मा १६ हजार ५ सय २ वटा सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा परी २ हजार ६ जनाको मृत्यु भएको छ । २०७१/७२ मा १४ हजार ८ सय ३७ वटा सवारी दुर्घटना हुँदा २ हजार ४ जनाको मृत्यु भएको छ । २०७०/७१ मा १३ हजार ५ सय ३९ वटा सवारी दुर्घटना हुँदा १७ सय ८७ जनाको मृत्यु भएको छ ।

यातायात विभागका प्रवक्ता वसन्त अधिकारी नयाँ गाडी सहरमा र पुराना पहाडमा चलाउने प्रवृत्तिले पनि दुर्घटना बढेको बताउँछन् । ‘विभागसँग पर्याप्त जनशक्ति छैन, अनि कसरी हुन्छ अनुगमन ?’ उनले भने, ‘सिन्डिकेटले सयौंको ज्यान लिन्छ ।’ सरकारले सुरक्षित र व्यवस्थित सडकको अवधारणालाई अघि सार्नुपर्ने उनले बताए । प्रतिवेदनका अनुसार काठमाडौं उपत्यकामा २०७२/७३ मा ५ हजार ६ सय ६८ सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा परी १ सय ६६ जनाको मृत्यु भएको छ । पूर्वमा ४ सय ४६, मध्यमा ५ सय २५, पश्चिममा ५ सय २०, मध्यपश्चिममा २ सय २८ र सुदूरपश्चिम क्षेत्रमा १ सय २१ जनाको मृत्यु भएको छ ।

सडक दुर्घटना बढ्दै गएपछि गत वर्ष व्यवस्थापिका संसद्को विकास समितिले सांसद शिवजी यादवको संयोजकत्वमा ‘सडक दुर्घटना उपसमिति’ गठन गरेको थियो । उपसमितिले तयार पारेको प्रतिवेदनले समेत प्रत्येक वर्ष १८ सय जनाको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको उल्लेख छ ।

पछिल्लो समय सडक सञ्जालको विस्तार व्यापक रूपमा बढे पनि कालोपत्रे र व्यवस्थित सडकको अभाव रहेको पनि प्रतिवेदनमा दर्साइएको छ । एक तिहाईभन्दा बढी सडक इन्जिनियरिङ अध्ययनबिना नै निर्माण गरिएको, सार्वजनिक यातायातको अवस्था ठीक नभएको, जथाभावी रूपमा स्थानीय सडक निर्माण गर्दा सवारी दुर्घटना बढेको प्रतिवेदनमा उल्लेख छ । सडक विभाग र स्थानीय पूर्वाधार तथा कृषि सडकका अनुसार मुलुकभर ५ हजार १ सय ३४ किमि सडक निर्माण भएको छ । त्यसमध्ये ३३ सय ४ किमि कालोपत्रे, ५ सय ४७ ग्राभेल, १२ हजार ८३ किमि धुलौटे सडक छन् ।

प्रतिक्रिया