संसारमा धनी र गरिबबीचको खाडल झनै बढ्दै गएको देखिएको छ । अक्सफाम इन्टरनेशनलले सार्वजनिक गरेको रिपोर्टअनुसार संसारमा रहेका १ प्रतिशत धनीको सम्पत्ति विश्वका ८२ प्रतिशत मानिसको सम्पत्ति बराबर रहेको देखिएको छ ।
संसारका अर्बपतिहरुले सन् २०१७ मा उनीहरुको सम्पत्तिमा ७ सय ६२ बिलियन डलरले वृद्धि गरेका छन् भने विश्वमा चरम गरिबी सात गुणाले बढेको छ । अक्सफामले यो अवस्था आउनुमा संसारमा प्रणालीको असफलता मुख्य कारक रहेको उल्लेख गरेको छ । कर छली, संस्थाको बाह्य प्रभाव, श्रमिको श्रम शोषण, अधिकारको कटौती लगायतका कारणले संसारमा धनी र गरिबबीचको खाडल बढ्दै गएको अक्सफामले उल्लेख गरेको छ ।
यो संस्थाले पछिल्ला पाँच वर्षदेखि यसप्रकारका रिपोर्ट सार्वजनिक गर्दै आएको छ । गत वर्ष अक्सफामले सार्वजनिक गरेको रिपोर्टमा विश्वका सबैभन्दा धनी ८ जनाको सम्पत्ति र विश्वको आधा जनसंख्याको सम्पत्ति बराबर रहेको उल्लेख थियो । अक्सफामका कार्यकारी निर्देशक विन्नी बायाइमाले यसलाई संसारको आर्थिक प्रणाली असफल बन्दै गएको संकेतका रुपमा उल्लेख गरे । उनले भने, ‘हाम्रा कपडा बनाउने, फोन बनाउने, सस्ता सामग्रीको आपूर्ति सुनिश्चित गर्ने खर्बपति लगानीकर्ताहरुले शोषणलाई तिव्र बनाएका छन् ।’ गत वर्ष संसारका खर्बपतिहरुले इतिहासकै सबैभन्दा धेरै आफ्नो सम्पत्ति वृद्धि गर्न सफल भएको देखिएको छ ।
संसारमा रहेका २ हजार ४३ जना अर्बपतिहरुमध्ये ९० प्रतिशत पुरुष रहेका छन् । गत वर्ष भनिएका ६१ जना धनीको सम्पत्ति बराबर संसारको आधा सम्पत्ति रहेको बताइएको थियो । तर अहिले यो संख्या ४१ मा झरेको बताइएको छ । अक्सफामको रिपोर्ट फोब्र्सको तथ्यांक र ‘क्रेडिट सुइस ग्लोबल वेल्थ डाटाबुक’ को बार्षिक रिपोर्टमा आधारित रहेको छ ।