लौ चिन्नुस् को को हुन् राज्यकोषबाट चुनाव प्रचारको खर्च जुटाउने नेताहरु

लौ चिन्नुस् को को हुन् राज्यकोषबाट चुनाव प्रचारको खर्च जुटाउने नेताहरु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १२ पुष २०७४
  • 16.6K
    Shares

हालै सम्पन्न चुनावहरुमा राजनीतिक पार्टीका नेतामहरुले ठूलो मात्रामा राज्यको कोषबाट रकम खर्च गरेकोे पाइएको छ । यसरी राजयकोषबाट रकम खर्च गर्ने राजनीतिक नेताहरुमा प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक पार्टीका नेताहरु रहेा छन् ।

नयाँ पत्रिका दैनिकले अनुगमन भ्रमणको वार्षिक बजेट चार महिनामै समाप्त भएको समाचारलाई पनि प्राथमिकताकासाथ छापेको छ । समाचारमा प्रधानमन्त्री तथा मन्त्रीहरुले चुनाव प्रचारमा गएको खर्चसमेत राज्यकोषबाट उठाएको उल्लेख छ ।
समाचारमा लेखिएअनुसार उद्योगमन्त्री सुनीलबहादुर थापा, सहरी विकासमन्त्री दिलनाथ गिरी, सहकारी तथा गरिबी निवारण राज्यमन्त्री, चम्पादेवी खड्का, आपूर्ति राज्यमन्त्री सुशीलकुमार श्रेष्ठ, सिँचाइ राज्यमन्त्री अमरसिंह पुनमगर लगायतले चुनाव खर्च पनि राज्यकोषबाटै उठाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, उनका सुरक्षाकर्मी र सचिवालयबाट जम्मा ६२ लाख ३९ हजार ८६४ रुपैयाँ खर्च भएको छ ।
समाचारमा लेखिएको छ- सिँचाइ राज्यमन्त्री अमरसिंह पुनमगर प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट कांग्रेस उम्मेदवार थिए । नयाँ पत्रिकासँग कुरा गर्दै उनले ३ कात्तिकदेखि जिल्लामा चुनावी प्रचारप्रसारमा लागेको र ११ मंसिरमा काठमाडौं फर्किएको बताए । तर, उनले मन्त्रिपरिषदको कार्यालयमा ३ देखि ८ कात्तिकसम्म, १६ देखि १७ कात्तिकसम्म र ११ मंसिरमा रोल्पाको अनुगमन मूल्यांकन भ्रमणमा गएको भन्दै भ्रमण भत्ता र हवाई टिकट खर्चका नाममा दुई लाख ४१ हजार पाँच सय दाबी गरेका छन् । उनले भ्रमण स्वीकृत गराउँदा बाटोमा पर्ने प्युठान, कपिलवस्तु, रुपन्देही जिल्लामा पनि अनुगमनमा गएको उल्लेख गरेका छन् ।
सहरी विकासमन्त्री दिलनाथ गिरी ४ देखि ११ मंसिरसम्म संखुवासभामा थिए । राप्रपाले चुनाव प्रचारका लागि उनलाई मोरङ, सुनसरी, सप्तरी र सिरहामा खटाएको थियो । तर, उनले भाइटीकाको दिन ४ कात्तिकमा जिल्ला अनुगमनमा भएको भन्दै मन्त्रिपरिषदको कार्यालयमा एक लाख ६२ हजार पाँच सयकोे विल पेस गरेका छन् । ४ देखि ११ मंसिरसम्म चुनावमा लागि आफू गृहजिल्ला संखुवासभा गएको उनले बताए ।

उद्योगमन्त्री सुनीलबहादुर थापा लोकतान्त्रिक गठबन्धनका तर्फबाट धनकुटामा प्रतिनिधिसभाको उम्मेदवार थिए । उनले ९ देखि १२ कात्तिक, १५ देखि २४ कात्तिक र २६ कात्तिकमा धनकुटाको अनुगमनमा गएको भनेर प्रधानमन्त्री कार्यालयमा भ्रमण भत्ता र हवाई टिकट खर्चसहित एक लाख ६९ हजार ३ ५० रुपैयाँको बिल पेस गरेका छन् ।

यसैगरी आपूर्ति राज्यमन्त्री सुशीलकुमार श्रेष्ठ निर्वाचनका बेला धनुषा, सर्लाही, महोत्तरीमा खटिएका थिए । उनले पनि १५ देखि १७ कात्तिकसम्म र २८ देखि ३० कात्तिकसम्म ती जिल्लाको अनुगमनमा गएको दाबी गर्दै ८२ हजार नौ सय रुपैयाँको बिल पेस गरेका छन् ।

सहकारी तथा गरिबी निवारण राज्यमन्त्री तथा बाग्लुङ १ मा कांग्रेसकी उम्मेदवार चम्पादेवी खड्काले पनि अनुगमनका नाममा राज्यकोषबाट खर्च माग गरेकी छिन् । उनले ५ देखि ७ कात्तिकसम्म र २६ देखि २७ कात्तिकसम्म जिल्ला अनुगमनमा गएको भन्दै मन्त्रिपरिषदको कार्यालयमा ३७ हजार तीन सय रुपैयाँको बिल पेस गरेकी छिन् ।

प्रतिक्रिया