बैदेशिक रोजगार क्षेत्रलाई राज्यले व्यवस्थित र मर्यादित बनाउने बताइरहँदा नेपाली युवा विदेश पठाउने नाममा भइरहेको ठगिधन्दामा भने उल्लेख्य कमी आउन सकेको छैन । कामको खोजीमा बिदेसिएका युवाबाट हरेक बर्ष म्यानपावर कम्पनी, कन्सलटेन्सी, तिनका एजेन्ट र व्यक्तिगत रुपमा पनि करोडौं रकम ठगी भइरहेको छ ।
गत आर्थिक वर्षमा मात्र नेपाली युवा विदेश पठाउने नाममा ६९ करोड ५० लाख ९६ हजार ५ सय २ रुपैयाँ ठगी भएको छ । यो रकम ठगी भएको भन्दै बैदेशिक रोजगार बिभागमा बिगो दाबीसहित उजुरी परेको हो । सो आवमा ठगी भएको रकम दाबी गर्दै २ हजार १ सय ७२ वटा उजुरी परेका छन् । बिभागका अनुसार बैदेशिक रोजगारीका नाममा संस्थागत (म्यानपावर कम्पनी) भन्दा पनि व्यक्तिगत रुपमा बढी रकम ठगी हुने गरेको छ । तर, उजुरी भने संस्थागत ठगीको बढी संख्यामा पर्ने गरेको छ ।
गत आवमा मात्र व्यक्तिगत रुपमा ठगी भएको भन्दै बिभागमा ७ सय ४ वटा उजुरी परेका छन् । ती उजुरीमा दाबी भएको रकम भने ४७ करोड ५३ लाख ३४ हजार २ सय ४१ रुपैयाँ छ । यस्तै, संस्थागत रुपमा ठगी भएको भन्दै बिभागमा १ हजार ४ सय ६८ वटा उजुरी परेका छन भने ती उजुरीमा २१ करोड ९७ लाख ६२ हजार २ सय ६१ रुपैयाँ रकम ठगी भएको भनि दावी छ । अघिल्लो आवको तुलनामा ठगी रकम र उजुरी संख्या कम भएपनि कारवाही भने ज्यादै सुस्त देखिएको छ । अघिल्लो आवमा यस्तो ठगीलाई लिएर बिभागमा २ हजार ६ सय ७९ वटा उजुरी परेका थिए । ती उजुरीमा ७३ करोड ३९ लाख ५ हजार ८ सय ३० रुपैयाँ बिगो दाबी भएको थियो ।
बिभागमा पर्ने अधिकांश उजुरीमा खाडी र युरोपियन मुलुकमा रोजगारीमा पठाइदिने भनि रकम लिएर बेपत्ता भएको, रोजगारीमा पठाएर अलपत्र पारेको, काम र पारिश्रमिक नपाएको उल्लेख छ । बिभागको अनुसन्धान शाखाले गरेको अनुसन्धानबाट यो तथ्य भेटिएको हो । खासगरि, युरोप र अमेरिका पठाइदिने भनेर व्यक्तिगत रुपमा ठगी भइरहेको अनुसन्धानले देखाएको छ भने खाडी र अन्य मुलुक पठाएर अलपत्र पार्ने, काम र पारिश्रमिक नदिने गरेको भनि संस्थागत रुपमा परेका उजुरीमा उल्लेख छ ।
हरेक वर्ष बिभागमा दाबी भएको बिगो रकम र उजुरीमध्ये न्युन मात्र पीडकबाट भराइने र जाहेरी फरफारक हुने गरेको छ । गत आवमा पनि बिभागले ठगी भएको मध्ये १० करोड ३६ लाख ७८ हजार ८५ रुपैयाँ रकम पीडकबाट भराएको छ भने ५ सय २० वटा जाहेरी फरफारक गरेको छ । यस्तै, कूल उजुरी मध्ये २ सय २६ वटा मात्र अदालतमा मुद्धा दर्ता भएका छन् ।
हरेक बर्ष बैदेशिक रोजगारीका नाममा ठूलो रकम ठगी भईरहेको भएपनि बिभागले भने अनुसन्धान र कारवाही प्रभावकारी बनाउन सकेको छैन । उजुरीमा पर्याप्त प्रमाणको अभाव र ठगी गर्ने व्यक्तिको पहिचान हुन नसक्दा यस्तो समस्या रहेको बिभागका अधिकारीहरु बताउँछन् । बिभागकी उपसचिव रमा भट्टराई पीडितले पर्याप्त प्रमाण पेश गर्न नसक्ने र कतिपय अवस्थामा पीडकको पहिचानसमेत हुन नसक्ने भएकाले सबै उजुरी छानवीन गरि कारवाही अघि बढाउन समस्या हुने गरेको बताउँछिन् । बिभागले पछिल्लो समय त्यस्ता उजुरीमाथि छानबिन र कारवाही प्रक्रिया बढाएको उनको भनाई छ ।
– See more at: http://www.ratopati.com/news/70156/#sthash.xVjZcfoo.dpuf