निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा कडाइ गरेको प्रतिक्रिया दिइरहँदा सुदूरपश्चिमका जिल्लामा राजनीतिक दल र तिनका उम्मेदवारले आचारसंहिताको धज्जी उडाउँदै प्रचारमा खुलेआम बालबालिकाको प्रयोग गरिरहेका छन् ।
आगामी २१ मंसिरमा निर्वाचन हुँदै गरेको अछाम तथा १० मंसिरमा हुने बैतडी र दार्चुला जिल्लामा दलहरूले बालबालिकालाई विद्यालय पोसाकमै प्रचारमा प्रयोग गरिरहेका छन् । तर निर्वाचन आयोग भने टुलुटुलु हेरेर बसेको छ ।
दलका नाराजुलुस र सभामा उम्मेदवार र नेताहरू एकअर्कालाई गालीसहित मतदाता तान्न चर्का भाषण ठोकिरहेका छन् । नेताको भाषणअघि र पछि बालबालिका चर्को स्वरमा दमाहा बजाएर सभा र घरदैलोमा रौनकता दिइरहेका छन् ।
वाम गठबन्धन र लोकतान्त्रिक दुवै पक्षका सभा, सम्मेलन, ¥याली र नाराजुलुसमा आधा बढी बालबालिका नै हुन्छन् । दलहरूले निर्वाचन आचारसंहिताविपरीत प्रचारमा बालबालिकाको प्रयोग गरेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
पार्टीको चिह्न अंकित टी–सर्ट, टोपी, प्रचार पम्पलेट, भित्तेलेखन र वाल पेन्टिङ गरेर आचारसंहिता मिच्दै आएका दलहरूले यसपटक भने विद्यालय पोसाकसहितका बालबालिकाको प्रयोग गरेर आचारसंहिताको खिल्ली उडाएका छन् ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरे यता अछाममा प्रचारमा होमिएका दलहरूले बालबालिकालाई झन्डा बोकाएर नारा जुलुसमा मात्र लगाएका छैनन् दमाहा बजाउने, सामान बोक्ने, पानी ल्याउने र प्रचार पम्पलेट ओसारपसारमा पनि प्रयोग गररहेका छन् ।
प्रचारमा आफ्नो शक्ति बलियो देखाउन उनीहरूले बालबालिकालाई सामेल गराउने गरेको तुर्माखाद–१, अछामका वीरबहादुर शाही बताउँछन् । जुलुसमा केटाकेटी नै बढी देखिन्छन्,’ उनले भने, ‘नाचगानमा त झन् बालबालिका मात्रै हुन्छन् ।’
बैतडीमा पनि निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन भइरहेको छ । जिल्लाका राजनीतिक दलहरूले आचारसंहिता उल्लंघन नगर्ने प्रतिबद्घता जनाए पनि उनीहरूले उल्लंघन गर्दै निर्वाचन प्रचारप्रसार गरिरहेका छन् ।
दलहरूले निर्वाचनको प्रचारप्रसार भड्किलो बनाउँदै गएका छन् । प्रचारप्रसारका सामग्री पर्चा, पोस्टर, झण्डालगायत चुनावी प्रचार सामग्री प्रयोगमा आचारसंहिता उल्लंघन गरेको पाइएको छ । बैतडी सदरमुकाम गोठलापानी बजार, साहिलेक बजारमा दलहरूका झण्डा तथा पर्चा पम्पलेटले दुलही झैं सिँगारिएको छ । यस्तै बैतडीको पाटन बजार, सतबाझ, देहिमाडौं, खोडपे बजार, खोचलेक बजारलगायत क्षेत्रमा पनि झण्डाहरूको माला नै बनाएर प्रचारप्रसार गरेको पाइएको छ ।
विद्यालयलाई शान्ति क्षेत्र गरेको भए पनि बैतडीका केही दलले चुनावी सभा पनि विद्यालयमै गरेका छन् । निर्वाचनमा प्रचारप्रसार गर्न ठूलो साउन्ड सिस्टमको प्रयोग गर्न र ठूलो आवाजमा नारा लगाउन बालबालिकाको प्रयोग पनि गरेका छन् । निर्वाचनको आचारसंहिता उल्लंघनका घटना बढ्दै गएको भए पनि स्थानीय प्रशासन तथा निर्वाचन कार्यालय मौन बनेको छ ।
अछामका कतिपय बालबालिका स्कुल जान छाडेर प्रचारमा हिँडिरहेका छन् । प्रचारकै लागि बालबालिका कक्षा छोडेरै प्रचारमा हिँडेको तुर्माखाद–१, अछामका वीरबहादुर शाही बताउँछन् ।‘विद्यालय प्रायः खाली छन्,’ स्थानीय एक शिक्षक भन्छन्,‘अधिकांश शिक्षक पनि प्रचारमै व्यस्त छन् ।’ नेताहरूको प्रत्यक्ष हस्तक्षेपका कारण शैक्षिक संस्थामा आचारसंहिता उल्लंघनका घटना बढेको उनले बताए । बालअधिकारको क्षेत्रमा क्रियाशील सरोकारवालाका अनुसार दैनिक बालबालिकाको प्रयोग बढ्दै गएको छ ।
‘आचारसंहिता उल्लंघनबारे गुनासो आइरहेका छन्,’ अछामका प्रमुख जिल्ला अधिकारी किशोर चौधरीले भने, ‘हामी दलहरूलाई सचेत गराउँदै आएका छौं ।’
‘¥यालीमा बालबालिका देखिन्छन्,’ बाल अधिकार संरक्षणका लागि नागरिक सञ्जाल अछामका सचिव उदित अर्यालले भने, ‘पार्टीको झन्डा बोकेर नारा लगाउने बालबालिका नै हुन्छन् ।
बालबालिका प्रयोग नघटेपछि जिल्लाको कालिकाका बाल क्लबहरूले दलहरूलाई सचेतना पत्र पठाएका छन् । उनीहरूले दलका ¥याली, सभा, सम्मेलन र प्रचारमा बालबालिका प्रयोग नगर्न आग्रह गर्दै सबै दलहरूलाई पत्राचार गरेका हुन् ।
दार्चुलामा राजनीतिक दलहरूले उम्मेदवारको पम्पलेट, झण्डा जस्ता प्रचार सामग्री सरकारी कार्यालय कमाउन्डमा गाडेर प्रचारप्रसार गरे पनि निर्वाचन कार्यालय मौन छ । एक साता सदरमुकाम खलंगाको जिल्ला पशु सेवा कार्यालय, नेपाल टेलिकमअगाडिको क्षेत्रमा प्रचार पम्पलेट टाँस गरे पनि अनुगमनकारी निकायले देख्न सकेको छैन । सदरमुकाम खुलामञ्चछेउमै रहेका ती सरकारी कार्यालयमा वाम गठबन्धन र नेपाली कांग्रेसका प्रचार पम्पलेटहरू टाँस गरिएका छन् ।
निर्वाचन आचारसंहितमा धार्मिक, सांस्कृतिक, पुराताŒिवक, ऐतिहासिक स्थल, सार्वजनिक संस्थानको भवन, पर्खाल, स्मारक, सडक, खम्बा वा संरचनालगायत कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन नहुने उल्लेख भए पनि दार्चुलामा भने यो आचारसंहिता कार्यान्वयन भएको छैन । बजारमा सरकारी कार्यालय लक्षित गरेर ठूलाठूला ब्यानर टाँस गरिएका छन् । सदरमुकाम खलंगा मात्रै होइन ग्रामीण भेगसम्म ठाउँ ठाउँमा पोस्टरहरू टाँस गरिएका छन् ।
विद्यालय क्षेत्रमा चुनावी सभा कमी भए पनि सार्वजनिक स्थलको प्रयोग गर्दै प्रचार पम्पलेट टाँसेर निर्वाचन आचारसंहिताको उल्लंघन भएको छ । यस्तै आमसभा गरेको स्थल र समयमा बाहेक अन्य स्थल र समयमा माइक तथा लाउड स्पिकर र ध्वनि उत्पन्न गर्ने अन्य यन्त्र प्रयोग गर्न नहुने उल्लेख भए पनि दार्चुलाका विभिन्न क्षेत्रमा बिहानै देखि बेलुकासम्म ठूलो स्वरमा लाउड स्पिकरको प्रयोग भइरहेको छ ।
जिल्लाका राजनीतिक दलहरूले आचारसंहिता उल्लंघन नगर्ने प्रतिबद्घता जनाएको भए पनि उनीहरूले उल्लंघन गर्दै निर्वाचन प्रचारप्रसार गरिरहेका छन् । राजनीतिक दलहरूले निर्वाचनको प्रचारप्रसार भड्किलो बनाउँदै गएका छन् । प्रचारप्रसारका सामग्री पर्चा, पोस्टर, झण्डालगायत चुनावी प्रचार सामग्री प्रयोगमा आचारसंहिता उल्लंघन गरेको पाइएको छ । दार्चुला सदरमुकामदेखि ग्रामीण भेगसम्म दलहरूका झण्डा तथा पर्चा पम्पलेटले दुलही झैं सिँगारिँदै गएको छ ।
निर्वाचन आचारसंहिता अनुगमन समिति बैतडीका संयोजकसमेत रहेका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतम जिल्लामा आचारसंहिताविपरीत काम भइरहेको स्वीकर गर्छन् । ‘लिखित उजुरी आएको छैन त्यसैले हामी पनि मौन जस्तै देखिएका हौं, कतिपय अवस्थामा निर्वाचन हो यत्ति त भइहाल्छ भन्ने पनि लाग्छ तर आचारसंहिताले त्यो भन्दैन,’ उनी भन्छन् ।
बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले निर्वाचन आचारसंहिता उल्लंघनका घटनालाई गम्भीरताका लिइरहेको बताए । निर्वाचन आचारसंहिता उल्लंघनलाई नियन्त्रण गरी जिल्लामा शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न आफूहरू लागिपरेको जोशी बताउँछन् ।
दलहरू भने बालबालिकाको प्रयोग नभएको दाबी गर्छन् । जबर्जस्त कसैलाई पनि प्रचारमा सहभागी नगराएको कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताले बताए । ‘कुनै पनि ठाउँमा बालबालिका प्रयोग गरिएको छैन,’ एमालेका सचिवालय सदस्य चन्द्र बोहराले भने, ‘यो विषयमा हामी सचेत छांै आचारसंहिताविपरीत कुनै गतिविधि भएको छैन ।’ स्रोत राजधानी दैनिक