नेपाल कम्युनिस्ट पार्टीले चुनाव खारेज अभियान सुरु गरेको छ ।शनिबार देशभर एकैपटक मशाल जुलुस निकालेर खारेज अभियान सुरु भएको बताएको नेकपाले जनाएको छ । कात्तिक १ गतेदेखि प्रचार-भित्तेलेखन गरिएको थियो भने १० गतेबाट दोस्रो चरण सुरु भएको हो ।
अागामी मंसिर हुन लागेको संघ र प्रदेशको चुनाव खारेज अभियानको पहिलो चरणमा प्रचार-प्रसार, दोस्रो चरणमा खबरदारी जुलुश र तेस्रो चरणमा उच्च चरणको खारेज अभियान सुरु गर्ने नेकपाले बताएको छ ।
दोस्रो चरण अन्तरगत शनिबार संसदीय व्यवस्था मुर्दावाद, कथित निर्वाचन खारेज गरौं, दलालहरु होसियार, नेपाल कम्यूनिष्ट पार्टी जिन्दावाद, एकिकृत जनक्रान्ति जिन्दावाद, एकिकृत जनजागरण तथा तथा प्रतिरोध अभियान सफल पारौं जस्ता नारासहित देशभर मशाल जुलुस निकालिएको हो ।
चुनाव विरोधी ‘एकिकृत जनजागरण तथा तथा प्रतिरोध अभियान’ अन्तरगत नेकपा प्युठानले मशाल जुलुस निकालेको सेक्रेटरी दधिराम सुवेदीले जानकारी दिए । स्थानीय निर्वाचन खारेज अभियानको क्रममा १० जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
त्यसैगरी हेटौडास्थित पत्रकार रुपा गुरुङले दिएको जानकारी अनुसार चुनाव खारेज अभियान दोस्रो चरणमा प्रवेश गरेको छ । हेटौंडा बसपार्कबाट सुरु भएको मसाल जुलुस सीमा चोकमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
यस्तै चितवन, सुनसरी, कैलाली लगायत देशभर एकै समयमा मशाल जुलुस निकालिएको थियो ।
मशाल जुलुसकै क्रममा कैलालीको टिकापुरबाट टिकापुर एरिया नं.१३ का इन्चार्ज विरेन्द्र बिकलगयात देशभरबाट एक दर्जन नेता-कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको नेकपाले जनाएको छ ।